उपाधिका लागि कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य

उपाधिका लागि कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । हङ्कङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि कुवेतले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आज भएको फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारि २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन जोडेको हो ।

कुवेतका लागि ओपनर रविजा सन्दारुवानले ३६ बलमा ६ चौका र ४ छक्काको मदतमा सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी अर्का ओपनर क्लिन्टो एन्टोले २६ रन, उस्मान पटेलले २३ रन, मीट भास्वरले १६ रन जोडे भने कप्तान मोहम्मद अस्लाम १३ रनमा अविजित रहे । अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

बलिङतर्फ नेपालका नन्दन यादव र सोमपाल कामीले समान २/२ विकेट लिए भने कुशल भुर्तेल र करण केसीको नाममा एकएक विकेट रह्यो ।

शनिबार भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो । शनिबार टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदै पानी परेपछि खेल अवरुद्ध भएको थियो । त्यसपछि दुवै टोलीले एक/एक अङ्क बाँडेका थिए । पाँच अङ्कका साथ नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । कुवेतले भने शनिबार बिहान भएको खेलमा कतारलाई ६ विकेटले हराउँदै ४ अङ्कसहित फाइनलमा पुगेको हो ।

Logo