काठमाडौं । नेपाललाई हराउँदै कुवेतले चारदेशीय टी–२० सिरिजको उपाधि हासिल गरेको छ ।
आइतबार सम्पन्न खेलमा फाइनल खेलमा कुवेतले नेपालमाथि तीन रनको जित हात पारेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सफल भयो । नेपालका लागि बसिर अहमदले ८० रन जोडे तर जिताउन सकेनन् । उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे ।
यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।
कुवेतका लागि ओपनर रविजा सन्दारुवानले ३६ बलमा ६ चौका र ४ छक्काको मदतमा सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी अर्का ओपनर क्लिन्टो एन्टोले २६ रन, उस्मान पटेलले २३ रन, मीट भास्वरले १६ रन जोडे भने कप्तान मोहम्मद अस्लाम १३ रनमा अविजित रहे । अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।
बलिङतर्फ नेपालका नन्दन यादव र सोमपाल कामीले समान २/२ विकेट लिए भने कुशल भुर्तेल र करण केसीको नाममा एकएक विकेट रह्यो ।
टी–२० मा कुवेतले पहिलोपल्ट नेपाललाई पराजित गर्न सफल भएको हो। यसअघि भएका दुवै भेटमा नेपालले कुवेतलाई ६ र ७ विकेटले पराजित गर्दै आफ्नो दबदबा कायम राखेको थियो ।





























प्रतिक्रिया