थानीमाई मन्दिरमा एक वर्षमा भित्रिए ५ सय ७ ओटा फूलको डोली

थानीमाई मन्दिरमा एक वर्षमा भित्रिए ५ सय ७ ओटा फूलको डोली

केन्द्रबिन्दु
60
Shares

बन्दीपुर (तनहँ) । जिल्लाको भानु नगरपालिका वडा नं. ७ बसन्तपुरस्थित थुम्कामा रहेको थानीमाई मन्दिरमा ५ सय ७ ओटा फूलको डोली भित्रिएको छ ।

गत आर्थिक बर्ष २०८१ को बैशाखदेखि चैत्र मसान्त सम्ममा उक्त सङ्ख्यामा फूलको डोली भित्रिएको थानीमाइ मन्दिर संरक्षण समितीका अध्यक्ष जिबन थापा मगरले जानकारी दिए ।

मन्दिरमा दर्शनका लागि बाषिर्क ५ सय ७ ओटा फुलको डोली सहित ५५ हजार ३ सय १९ जना भक्तजनहरू आएका छन् । हरेक फूलको डोलीबाट मन्दिर प्रवेशका लागि रु ५ सय रुपैयाँ लिने गरिएको समितीका अध्यक्ष मगरले बताए ।

यस्तै करिव १४ लाख ३० हजार रुपैयाँ भेटी संकलन भएको छ । गत आर्थिक बर्ष २०८१ को बैशाख देखी चैत्र मसान्त सम्ममा मन्दिर भित्रको भेटी, डोलीबाट लिइने प्रवेश शुल्क र पार्किङ शुल्कबाट गरीे उक्त रकम संकलन भएको उनले जानकारी दिए ।

सयौं मानिसहरु नाचगान गर्दै फूलको डोली र पञ्चैवाजासहित थानीमाई मन्दिरलाइ तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई ३ फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजाअर्चना गर्ने गरिन्छ ।

फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहि आएको मन्दिरका पुजारी सर्वजित पाटा मगरले बताए । उनले भने, ‘मन्दिरमा ३ जना मगर जातका पूजारीहरू पूजाआजा गर्ने गरेका छौं, मन्दिर प्रवेशमा कुनै पनि जातजाति भएकै कारण रोक लगाइने गरिएको छैन ।’

थानीमाई मन्दिरमा साउन महिनाबाहेक हरेक महिनाको सोमवार र मंगलबार भक्तजनको अत्यधिक चहलपहल हुन्छ । सोमवार र मंगलवार औंसी अथवा एकादशी परेमा भने पूजा गरिदैन ।

समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको यस मन्दिरमा दर्शनका लागि तनहुँ, लमजुङ गोरखा, धादिङ चितवन, कास्की लगायतका जिल्लाबाट धेरै भक्तजनहरू आउने गर्छन् । थानीमाइ मन्दिरबाट तनहुँ गोरखा लमजुङका अधिकांश ठाउँहरु लगायत धौलागिरीदेखि गणेश हिमालका सुन्दर हिमाली दृश्यहरु देख्न सकिन्छ ।

इतिहासविद्का अनुसार झण्डै ४ सय वर्ष पहिले एक भोटिनी र उनकी छोरी जडिबुटी बेच्न बसन्तपुर गाउँ आए । साँझमा गाउँलेहरूले बास दिन मानेनन् र उनीहरू एक कटुसको बोटमुनि आश्रय लिए । त्यही रात असिना पानी र ठूलो हावाहुरीमा आमाछोरीको मृत्यु भयो । त्यसपछि गाउँमा विभिन्न दैवी प्रकोप र प्राकृतिक विपत्तिहरू सुरु भए । त्यहीे दिनदेखी त्यस गाउँमा भाँडभैलो मच्चिन थाल्यो ।

भूतले तर्साउने, विभिन्न दैविप्रकोप प्राकृतिक प्रकोपले सताउन थाल्यो । स्थानीय जमलसिंह पाटामगरलाई राती सपनामा तिनै भोटिनी थानीमाईको रुप लिएर त्यही स्थानमा बसेको र उनीहरुको पूजाआजा गरेर फूल चढाए दुःख दिन छाड्ने सन्देश आएपछि पूजाआर्चन गर्न थालियो । देवीले भने बमोजिम नै सोमवार राती सत्यनारायणको पूजा लगाई मंगलबार चोखोनितो सहित फूलको डोली चढाउने गरिएको स्थानीय बताउँछन् । अहिले पनि मन्दिरभित्र ती आमाछोरीको मुर्तिमा पूजा गरिन्छ ।

थानीमाइ मन्दिर पुग्न पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको डुम्रेबजार हुँदै लमजुङको सदरमुकाम बेसिशहर जाने राजमार्गको बाइजंघारसम्म १८ किलोमिटर पिच सडक र वाइजंघारबाट ८ किलोमिटर यात्रा गरेपछि पुग्न सकिन्छ ।

डुम्रे भन्सार हुँदै चुँदी टुहुरेपसल र चन्द्रावतीबाट अलग अलग कच्ची सडकबाट ६ किलोमिटर पार गरेपछि थानीमाई दर्शनका लागि जान सकिन्छ । डुम्रे बेसिशहर सडकखण्डको अर्चलधारासम्म पिच सडक र अर्चलधाराबाट लौडारी भज्याङ हुँदै करिव १६ किलोमिटरसम्मको कच्ची सडकबाट पनि थानीमाई मन्दिर पुग्न सकिन्छ ।

Logo