ऐतिहासिक इखा पुखु पोखरीलाई पुनर्निर्माण गर्दै काठमाडौं महानगर

ऐतिहासिक इखा पुखु पोखरीलाई पुनर्निर्माण गर्दै काठमाडौं महानगर

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक पोखरी इखा पुखुको पुनर्निर्माण कार्यलाई अगाडि बढाएको छ।

महानगरको वडा नं‍. १७, १८ र २५ को बीचमा अवस्थित इखा पुखु एउटा ऐतिहासिक पोखरी हो, जसले स्थानीय समुदायसँग गहिरो धार्मिक र सामाजिक सम्बन्ध बोकेको छ।

विज्ञहरूका अनुसार, पानीको स्रोत व्यवस्थापन गर्न काठमाडौंको उत्तरी सिरान क्षेत्रपाटीमा यो पोखरी निर्माण गरिएको थियो। कुनै समय क्षेत्रपाटी नै सहरको उत्तरी सिमाना थियो, र त्यसभन्दा पर बस्ती थिएन। त्यसैले स्थानीय बासिन्दाले पानी जम्मा गर्न इखा पुखु बनाएका थिए र नजिकै इखानारायण मन्दिर स्थापना गरेका थिए। त्यसबेला यो पोखरी काठमाडौंको जमिनमा पानी पुनर्भरणको प्रमुख स्रोतको रूपमा थियो। तर, विभिन्न कालखण्डमा यो पोखरीको अस्तित्व मेटाउने प्रयासहरू भए।

अहिले फेरि काठमाडौं महानगरले यसको पुनर्निर्माण थालेको हो । मेयर बालेन शाहका अनुसार हालसम्म पोखरीमा थुप्रिएको फोहोर, झार, र २०७२ को भूकम्पपछि भत्किएका घरहरूको अवशेष हटाइएको छ । सुरुमा २ फिट उत्खनन गरिएको थियो, तर पुराना तहहरू भेटिएपछि थप १ फिट गहिरो खनियो। त्यसपछि मात्र पुरानो कालो माटो भेटिएको थियो। महानगरपालिकाले बाउन्ड्री वाल निर्माणको तयारी पनि पूरा गरेको छ। ३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी छ, जसमध्ये ६ रोपनी क्षेत्र पानीका लागि छुट्याइएको छ।

पोखरीको वरिपरि २ मिटर चौडाइको पैदलमार्ग निर्माण गरिनेछ, जहाँ मानिसहरू हिँड्न, विचार गर्न र पोखरीको शान्त वातावरण महसुस गर्न सक्नेछन्। यो केवल संरचनात्मक पुनर्निर्माण मात्र होइन, यसमा आकाशे पानी संकलन प्रणाली पनि बनाइनेछ। पोखरीको पुनर्निर्माणले जल प्रणाली (ब्लु ल्याण्डस्केप) को पुनःस्थापना गर्ने मेयर बालेनको भनाइ छ ।

Skip This
Skip This
Logo