सेकेन्ड ह्याण्ड ईभी गाडीमा फाइनान्स नहुँदा बिक्री हुनै सकस, कति हुन्छ भ्यालुएसन ?

सेकेन्ड ह्याण्ड ईभी गाडीमा फाइनान्स नहुँदा बिक्री हुनै सकस, कति हुन्छ भ्यालुएसन ?


काठमाडौं । नेपालमा अहिले इलेक्ट्रिक भेहिकल (ईभी)को प्रयोग र बिक्रीले द्रुत रूप लिइराख्दा सेकेन्ड ह्याण्डमा भने यसको माग न्यून रहेको बुझिएको छ । निश्चित समय चलाएका ईभी गाडी सेकेन्ड ह्याण्डमा बिक्री भएपनि त्यस्ता ईभी गाडी किन्नेको संख्या न्यून रहेको पाइएको हो । 

देशमा ईभी गाडीको प्रयोग बढ्दो रहँदा नयाँ किन्ने, तर थन्क्याउने प्रवृतिले रिकन्डिसनबाट ईभी बिक्री गर्नै सकस परेको रिकन्डिसन व्यवसायीहरू बताउँछन् । नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइरालाले बैंकबाट सेकेन्ड ह्याण्ड ईभीमा फाइनान्स नहुँदा ग्राहकको प्राथमिकतामा सेकेन्ड ह्याण्ड सवारी नपरेको बताए । 

‘रिकन्डिशनबाट सेकेन्ड ह्याण्ड ईभी गाडी किन्ने दाममा नयाँ गाडी आउने भएकाले पुराना ईभीमा ग्राहकको चासो छैन, बैंकबाट फाइनान्स हुँदैन, ईभीमा दुविधा अझै भएकाले यसमा केही समस्या छँदैछ, त्यसैले ग्राहक पुरानाभन्दा नयाँ ईभी गाडी किन्नमा इच्छुक देखिएका हुन्,’ उनले भने ।

कोइरालाका अनुसार आईसीई सेकेन्ड ह्याण्ड गाडीमा भने बैंकबाट सहजै फाइनान्स भइरहेको छ ।  

ईभीमा भविष्य दिगो नदेखेर सुरक्षित हुनका लागि बैंकले पुराना ईभीमा लगानी नगरेको उनको ठम्याई छ । ‘बैंकले यदि नयाँ ईभीमा लगानी गर्छ भने सेकेन्ड ह्याण्डलाई पनि आईसीई सोसरह नै लगानी गर्नुपर्छ, सेकेन्ड ह्याण्ड ईभीलाई लगानी हुँदैन भने नयाँलाई पनि गर्नु हुँदैन,’ उनले भने । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) को सीमालाई ६० प्रतिशत कायम गरेको छ । तर, सेकेन्ड ह्याण्ड ईभीमा फाइनान्स नहुँदा बिक्री गर्न र भ्यालुएसन गर्न गाह्रो भएको व्यवसायीको गुनासो छ । गाडीमा जडान भएको ब्याट्रीको आयु, मूल्य र पुनः बिक्री मूल्य ग्यारेन्टी नहुँदा यसमा बैंकले लगानी नगरेको देखिन्छ । 

बिक्री गर्दा आधा दाम पाउन पनि मुस्किल !

सेकेन्ड ह्याण्डमा ईभी गाडीको भ्यालुएसन अहिले रिकन्डिसन व्यवसायीहरू आ-आफ्नो तरिकाले गर्दै किन्दै आएका छन् । यसको भ्यालुएसन धेरै विषयमा निर्भर हुनुका साथै गाडी कति पुरानो हो भन्ने कुराले मूल्य घटबढ गर्छ । सामान्यतया हरेक वर्षमा ईभी गाडीको मूल्य अनुमानित १०/१५ प्रतिशत घट्ने बताइन्छ ।   

कम किलोमिटर चलेका गाडीको भ्यालु धेरै हुनुका साथै गाडीको बाहिरी/भित्री अवस्था, विभिन्न पार्ट्स तथा सर्भिस हिस्ट्री हेरेर पनि रिकन्डिसन व्यवसायीहरूले उक्त गाडी लिँदै आएका छन् । र, दुर्घटनाग्रस्त गाडीको मूल्य कम हुने पनि अध्यक्ष कोइरालाले जानकारी दिए ।  

यद्यपि केही गाडीहरू सस्तोमा पाइन कठिन हुने र तिनीहरूको भ्यालु सेकेन्ड ह्याण्डमा पनि उच्च रहने बताइन्छ । नेपालमा अहिले बीवाईडी टाटा, एमजी, हुन्डाई आदि ब्रान्डका गाडी आम ग्राहकको रोजाइमा छन् । लोकप्रिय ब्रान्डको भ्यालु प्रायः राम्रो हुने व्यवसायी बताउँछन् । 

ईभीको भ्यालु सबैभन्दा ठूलो निर्धारण गर्ने तत्व ब्याट्री हो । यदि गाडीको ब्याट्री हेल्थ अझै ८० प्रतिशत माथि छ भने मूल्य सेकेन्ड ह्यान्डमा पनि उचित पाउँछ । तर, ब्याट्री ह्रास भइसकेको छ भने मूल्य न्यून बिन्दुमा हुने अध्यक्ष कोइरालाले जानकारी दिए ।  

नयाँ ब्याट्रीको लागत धेरै भएकाले सेकेन्ड ह्याण्डमा ईभी गाडीको भ्यालुएसन कम भएको हो । सामान्यतया ५ वर्षभित्र ईभी गाडीको मूल्य ४० देखि ५० प्रतिशत मूल्यमा ह्रास हुने बताइन्छ । कहिलेकाहीँ पुराना ईभी बेच्ने बेला सब्सिडीले पनि बजार मूल्य घटाउने भएकाले नयाँ ईभी सस्तो पर्न जान्छ ।

त्यसैले लङ रेन्ज भएका ईभी दिगो समय चलाउनको लागि उचित हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि बताउँदै आएका छन् । यदि भोलिका दिनमा गाडीको ब्याट्री बिग्रियो वा फेर्नको लागि ब्याट्रीमा ठूलो लागत लाग्ने अवस्थामा आयो भने उक्त सवारीको सेकेन्ड ह्याण्ड भ्यालु असाध्यै न्यून हुने कोइरालाको भनाई छ ।

के भन्छन् व्यवसायी ? 

नेपालमा चाइनिज गाडीको आयात र प्रयोगले प्यासेन्जर सेग्मेन्टमा ईभीको हिस्सा निकै ठूलो बनिसकेको छ । भविष्य ईभीको भनेर भनी राखिएता यसको भविष्य अझै अन्योलमा देखिन्छ । यसका लागि नेपालमा छुटै नीतिको तर्जुमा नभएकाले हरेक हिसाबबाट प्रयोगकर्तामा दुविधा चाहिँ छ । यद्यपि अटो व्यवसायीहरूले विश्वासको वातावरण तर्जुमा गरेर गाडी बिक्री गरिरहेका छन् । 

जे होस् आईसीई गाडीको जस्तो ईभीले भ्यालुएसन पाउन मुस्किल देखिन्छ । आर्थिक समस्या पर्याे भने धेरैले सुन, गाडी, घर वा जग्गा बिक्री गर्छन् । तर, ईभी किनेर गाडी बिक्री गर्छु भनेर सोच बनाउने भने चाहिँ सम्भावना अहिलेको अवस्थामा निकै कम देखिन्छ ।

तर, टाटा गाडीको बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठ सेकेन्ड ह्याण्डमा पनि ईभी राम्रो दाममा बिक्री हुने दाबी गर्छन् । ईभी नयाँ भएकाले रिसेल भ्यालु स्थापित हुन समय लाग्ने श्रेष्ठले जानकारी दिए । ‘ईभीमा ब्याट्रीको कन्डिसन हेरेर दोस्रो तहमा कारोबार हुने हो, हामीले हेरे पनि ब्याट्रीको कन्डिसन सबैले हेर्न सकिरहेका छैनन्, ब्याट्रीको मूल्य, लाइफ टाइम हेरियो भने तुरुन्तै भ्यालुएसन गर्न सकियो,’ उनले भने । 

ईभीमा भएको ब्याट्रीको कन्डिसनका डरले सेकेन्ड ह्याण्डमा ईभी धेरै कारोबार नभएको श्रेष्ठले बताए । ठूलो मात्रा अहिले नै सेकेन्ड ह्याण्डमा ईभी नपुगेता पनि भोलिका दिनमा पुग्दा किन्ने मान्छे नहोलान् भन्न सकिन्न । भोलिका दिनमा ब्याट्रीको मूल्य घट्यो भने यसको भ्यालुएसन पनि कम हुने श्रेष्ठको भनाई छ । 

‘ईभी कुदाएर सेकेन्ड ह्याण्डमा बिक्री गर्नुपर्यो भने भ्यालुएसन ड्राइभरको हातमा पनि हुन्छ, किनभने उसले आफ्नो गाडीको सुरक्षा कतिको गरिरहेको त्यसले पनि धेरै विषयमा प्रभाव पार्छ, उसले आफ्नो गाडी निरन्तर फास्ट चार्जरबाट चार्ज गरिरहेको छ भने ब्याट्रीको लाइफ घटेको हुन्छ, घरमा उसले चार्ज गर्छ भनेर ब्याट्रीको लाइफ बढेको हुन्छ,’ उनले भने । 

यस्तै, जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले ईभी किन्दा लामो समयलाई हेरेर किन्नु पर्ने बताउँदै आएका छन् । ‘नेपालमा ईभीको भविष्य छ, तर यसका लागि सोही अनुरूपको गाडी किन्न जान्नुपर्छ, दिगो सोचेर गाडी किन्ने हो भने लङ रेन्ज दिने गाडी किन्दा उपयुक्त हुन्छ,’ उनले भने ।  

गेलाल गाडी किन्दा ब्रान्ड, कम्पनी र विश्वमा त्यसको प्रयोगलाई हरेर किन्नु पर्ने सुझाव दिन्छन् ।

सेकेन्ड ह्याण्डलाई बैंकले लगानी नगरेता पनि नयाँ ईभी गाडीका लगानी बढाइरहेको देखिन्छ । यद्यपि हालै सम्पन्न नाडा अटो डायलग २०८१ मा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ईभीको भविष्यलाई लिएर विभिन्न दुविधा उत्पन्न भैरहेका बाबजुत पनि बैंकहरुले ईभी गाडीमा लगानी बढाइरहेको बताएका छन् । 

ईभी गाडीको लागि नेपाल राष्ट्र बैंकले लगानी छुट्टै नीतिको व्यवस्था गरेर अगाडि बढ्नु पर्ने उनले सो बेला धारणा राखेका थिए । उनले भनेका थिए, ‘बैंकहरुले ईभी गाडीमा अहिलेसम्म कति लगानी गरे भनेर तथ्यांक नभए पनि लोनको मात्रा बढाइरहेको पाइन्छ, लगानी बढाएता पनि यसको भविष्यलाई लिएर बैंकरहरुसँग धेरै कन्सर्न छन् ।’ 

प्रदूषण कम, सञ्चालन खर्च कम भएकाले ईभी निकै उपयुक्त छन् । आफ्नो बजेट अनुकूलका गाडी एकपछि अर्को आइराख्दा अब बिक्रेता कम्पनीहरूले पनि मूल्यका बारेमा सोच्नुपर्ने अटो विज्ञहरू बताउँदै आएका छन् ।  

भ्यालुएसन शून्य होला ?

ईभी गाडीको अहिले ब्याट्री र मोटरलाई मुख्य पार्ट्सको रूपमा हेरिएको छ । यी लगायत यावत् पार्ट्सको ईभीमा मेजर मानिन्छ । यद्यपि अहिले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिए अधिकांश गाडी बिक्रेता कम्पनीहरूले गाडी धमाधम बेचिरहेका छन् । तर, ब्याट्री वारेन्टी पनि सकिएको ८ वर्षपछि ब्याट्री लाइफ रहने र गाडी मज्जाले कुद्ने बताउँदै आइएको छ । 

गाडीको ब्याट्रीको मूल्य कम हुने भनिएता पनि यसको मूल्य गाडीको आधा दाम पर्ने बताइन्छ। थोरै रकममा नयाँ ईभी आउँछ भने मान्छेले पुरानो भन्दा नयाँ नै किन्न खोज्छ । उक्त अवस्थामा सेकेन्ड ह्याण्डमा ईभी गाडी बिक्री र त्यहाँबाट पनि ग्राहकलाई बेच्न समस्या हुन सक्ने अध्यक्ष कोइरालाले बताए ।

तर, गाडीको ब्याट्री बिग्रियो भने कतै भ्यालुएसन शून्य हुने त होइन भन्ने चिन्ता प्रयोगकर्तालाई थपेको छ ।  सरकारद्वारा दिइने सब्सिडी वा कर छुटले ईभीको मूल्य निर्धारणमा ठूलो भूमिका खेल्ने भएकाले ईभी किन्दा धेरै ध्यान दिन चाँही आवश्यक छ ।

रेन्ज घटेपछि गाडीको पुनः बिक्री मूल्य घट्छ । तर, ईभीको मूल्य शून्य हुँदैन । सामान्य मूल्यमा भए पनि बिक्छ । यद्यपि उक्त गाडीको ब्याट्री पाइएन, चार्ज गर्न सकिएन, पार्ट्स फेला पर्दैनन् र कम्पनी नै बन्द भइसकेको अवस्था छ भने भ्यालुएसन शून्य नहोला भन्न सकिन्न ।  

Logo