काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघले आज एकैदिन आयोजना गरेको आन्दोलनले यातायात सेवा अस्तव्यस्त बनाएको छ । आन्दोलनले गर्दा अहिले काठमाडौं उपत्यकाभित्रको यातायातको आवतजावतलाई निकै समस्या भएको हो ।
यातायात सहजै आवतजावत गर्न नसक्दा सडकका मुख्य चोकदेखि अहिले गल्लीसम्म जाम भएको छ । यातायात जाममा पर्दा कार्यालय जानेहरू समेत समयमै पुग्न निकै हम्मेहम्मे परिरहेको छ ।
आन्दोलनलाई मध्यनजर गरी आज काठमाडौंको सुरक्षा सतर्कता पनि उच्च पारिएको छ ।
यद्यपि आन्दोलनले चोक-चाेकमा जाम पर्दा गन्तव्य पुग्न निकै सकस परिरहेको बस चालक दिपेन्द्र खड्काले बताए । उनका अनुसार कुनै ठाउँमा समयमै जानु छ भने केही घण्टा अगाडि नै निस्किँदा उचित हुन्छ ।
राप्रपाले निषेधाज्ञा तोड्ने गरी आन्दोलन गर्ने भएका कारण यातायात आवतजावतमा समस्या देखिएको हो । गएको फागुन अन्तिम हप्तादेखि दुई महिनाका लागि संसद भवन वरपर, सिंहदरबार क्षेत्र, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार र भद्रकाली क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो ।
निषेधाज्ञा लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न पाइँदैन । तर, राप्रपाले आज राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि आज बिहानैदेखि सुरक्षा व्यवस्था अलर्ट गरिनुका साथै जाममा पर्ने विषयको आंकलन गर्दै वैकल्पिक अपनाएर यात्रा गर्न ट्राफिक कार्यालयले आग्रह गरेको छ ।































प्रतिक्रिया