काठमाडौँ
१० वर्षे जनयुद्धका क्रममा पति र छोरी गुमाएकी मंगला गाउँपालिका–२ सिमलचौरकी गुमाकुमारी खड्काले मंगलबार पहिलोपटक प्रचण्ड र रामबहादुर थापा बादललाई भेटिन् । नसा रोगबाट पीडित पत्नी सीताको उपचारका सिलसिलामा तातोपानी कुण्डमा स्नान गर्न पुगेका नेकपाका अध्यक्ष प्रचण्डसँगै गृहमन्त्री बादल पनि मंगलबार सिमलचौरस्थित खड्काको घर पुगेका थिए ।
प्रचण्ड र बादललाई सामुन्ने देखेपछि खड्का केहीबेर अवाक भइन् । लगत्तै जनयुद्धमा होमिएर परिवारका सदस्य गुमाएको पीडा सम्झँदै उनले भनिन्, ‘जनयुद्धमा होमिएर हामीले परिवारका सदस्य गुमायौँ । संघीय गणतन्त्र आयो । अब जनतालाई विकास चाहिएको छ । त्यो जिम्मेवारी पूरा गर्नुहोस् ।’ त्यहाँ जम्मा भएका सहिद परिवारका अन्य सदस्यले पनि उनीहरूलाई जनचाहना पूरा गर्न आग्रह गरेका थिए ।
५५ वर्षीया गुमाले जनयुद्धमा पति र छोरी गुमाएकी थिइन् । त्यो युद्धका कमान्डरलाई भने वर्षौंपछि मात्र भेटिन् । तैपनि प्रचण्ड र बादल घरमै भेट्न आउँदा खुसी लागेको बताइन् । गुमाकी छोरी सिर्जनालाई १३ चैत ०५८ मा सिखमाबाट र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पार्टी सदस्यता लिएका पति नन्दबहादुर खड्कालाई २ भदौ ०५९ मा कुहुँबाट गिरप्तार गरी तत्कालीन राज्य पक्षले हत्या गरेको थियो । तत्कालीन नेकपा मशालका नेता रहँदा बादल ०४३ तिरै खड्काको घरमा पुगेका थिए । दशकौँपछि पुनः सोही ठाउँ पुगेर युद्धमा ज्यान गुमाएका सहयात्रीको परिवारलाई भेट्दा उनी भावुक बने ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया