भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमा अर्थात् यही वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ ।
सानोठिमीमा आज बसेको बोर्डको बैठकले विद्यार्थीलाई अन्योलमा नपर्न अनुरोध गर्दै पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोन र महासङ्घले कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने निर्णय गरेपछि विद्यार्थी तथा अभिभावकमा परीक्षा निर्धारित समयमा सञ्चालन हुने नहुनेबारे अन्योल थियो ।
बोर्डले परीक्षा निर्धारित समयमै गर्ने र शिक्षक सहभागी नभए निजामति कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको परीक्षाको तयारीमा असर पर्ने र विद्यार्थीको समय खेर जाने भएपछि परीक्षा नरोक्ने तर प्रत्येक जिल्लामा प्रमुख जल्लिा अधकिारीको संयोजकत्वमा जिल्लामा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लाका निजामति कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका केन्द्रमा प्रमुख जिल्ला अधिकारीले निर्णय गरेर व्यवस्थापन गर्ने गरी परीक्षा सञ्चालन गरिने भएको छ ।
बोर्डको आजको बैठकले आन्दोलनरत शिक्षकलाई कक्षा १२ को परीक्षा सञ्चालन गर्न सहयोग गर्न आह्वान गर्ने निर्णयसमेत गरेको छ । यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापानमा एउटासहित एक हजार ५९१ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।
परीक्षाका लागि त्यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तिमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी बोर्डले गरेको छ ।
विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् ।
विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । उनीहरु ऐन जारी नभएसम्म सडक नछाड्ने अडानमा छन् । शिक्षकहरुको आन्दोलन उग्र बन्दै जाँदा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न प्रधानमन्त्रीस्तरमा छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो । मन्त्री भट्टराईको प्रधानमन्त्री ओलीसँग शृंखलावद्ध नीतिगत मतभेद, चौतर्फी दबाबकाबीच उनले पद त्यागेको प्रष्ट देखिन्छ । यद्यपी भट्टराईले राजीनामा पत्रमा स्वास्थ्यको कारण देखाएकी छन् । गत असार ३१ मा मन्त्रीको दि सम्हाल्न आएकी उनले १० महिना नपुग्दै राजीनामा दिएकी हुन् ।





























प्रतिक्रिया