काठमाडौं
कोस्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौता अनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ ।
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो । ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति निराशाजनक भएपछि पप्पुसँग सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए । उनका अनुसार यस अवधिमा पप्पुले जम्मा ७ प्रतिशत काम गरेको छ ।
स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना सिक्टामा साउदी विकास कोषले दुई अर्ब ४१ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । पप्पुले काम नगरेपछि दातृ निकायको सहयोग रकम समेत अलमलमा परेको सिँचाइ मन्त्रालयका एक अधिकारीले बताए । कोषले सुरु देखि नै पप्पुको काम सन्तोषजनक नभएको गुनासो गर्दै आएको थियो ।
उसले ठेकेदारकै कारण आर्थिक सहायता उपलब्ध गराउन नसकिने चेतावनी पनि दिँदै आएको थियो । अब ठेक्का तोडिएपछि कोषले पुनः रकम उपलब्ध गराउने/नगराउने भन्नेबारे यकिन हुन नसकेको बताइएको छ । डुँडुवा शाखा नहर निर्माण गर्न पुनः नयाँ प्रक्रिया थालनी हुने सिक्टा सिँचाइका डिभिजनल इन्जिनियर प्रकाश कार्कीले बताए ।
२३ किलोमिटर लामो डुुँडुवा शाखा नहर बनाउन विभागले ९८ करोड रुपैयाँमा पप्पुसँग सम्झौता गरेको थियो । विभाग र आयोजना कार्यालयले ठेकेदार कम्पनीलाई काम चाँडो गर्न पटकपटक ताकेता गर्दा समेत पप्पुले बेवास्ता गर्दै आएको थियो । पप्पुका सञ्चालक संघीय समाजवादी फोरमका सांसद (हाल निलम्बनमा परेका ) हरिनारायण रौनियार हुन् । आफू सांसद बन्न सफल भएपछि उनले छोरा सुमितलाई अगाडि सारेका छन् । राजनीतिक पहुँच र प्रभावका कारण कर्मचारी तहबाट गरिएको ताकेता रौनियार बाबु–छोराले नटेरेको गुनासो थियो ।
नागरिकबाट





























प्रतिक्रिया