असगर अली प्रधानमन्त्रीका आईटी सल्लाहकार कि डाटा तस्करी ?

असगर अली प्रधानमन्त्रीका आईटी सल्लाहकार कि डाटा तस्करी ?

केन्द्रबिन्दु
201
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार असगर अली फेरि एकपटक विवादमा तानिएका छन्। यसपटक उनको नाम शिक्षामन्त्रीबाट विद्या भट्टराईको राजीनामासँग जोडिएको हो ।

२०७४ सालमा प्रधानमन्त्री ओली पहिलोपटक प्रधानमन्त्री हुँदा आइटी सल्लाहकार बनेका अली २०८१ साउनमा दोस्रो पटक सेवा सुविधा नलिने गरी सचिस्तरको विज्ञ पदमा नियुक्त भएका थिए। प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने अली पटक-पटक विवादमा पर्दै आएका छन्। पछिल्लो समय शिक्षामन्त्री भट्टराईले एकाएक राजीनामा दिनुको मुख्य कारण असगर अलीको अनुचित कार्यमा असहयोग गर्नु रहेको चर्चा बजारमा चलेको थियाे ।

असगर अली, प्रधानमन्त्री ओलीका आँखामा नबिझाउने पात्र हुन् । सेवा सुविधा नलिने गरी प्रधानमन्त्री ओलीको आइटी सल्लाहकार नियुक्त भएका असगरले पदको दुरुपयोग गरि आर्थिक लाभ लिने गरेको खुलेको छ । धेरै पटक आफ्नो सिप र पदको दुरुपयोग गर्दै फाइदा उठाउँदै आएका असगर वास्तवमा भन्ने हो भने अनुसन्धानमा तानिनुपर्ने व्यक्ति हुन् । तर उनैले प्रधानमन्त्रीकै आईटी सल्लाहकार हुने मौका पाए त्यो पनि दुई दुई पटक ।

यति भएपछि असगरलाई ‘के खोेज्छस् कानो आँखो’भने जस्तै भयो । र आफ्नो स्वार्थ पूरा गर्नका लागि असगरले जादूको छडिका रुपमा प्रयोग गरे माध्यामिक शिक्षा परीक्षा (एसइई)लाई ।

कथा सुरु हुन्छ, २०८० को एसइईको नतिजाबाट ४७.८६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएपछि चिन्तित बनेका प्रधानमन्त्री ओली उत्कृष्ट नतिजा कसरी ल्याउने भन्ने विषयमा सोचमग्न हुन्छन् । त्यसपछि ओलीले एसइईको नतिजा खराब आएका कारण निःशुल्क ट्युसनदेखि अनलाइन क्लाससम्मको स्किमहरू सार्वजनिक गरिरहेका थिए । त्यसलाई मध्यनजर गर्दै असगरले एसइईलक्षित अनलाइन कक्षाका लागि शैक्षिक सामग्री बनाउने योजना बनाए । असगर आईटीमा पोख्त भएको व्यक्ति भएका कारण प्रधानमन्त्रीले उनको कुरा नसुन्ने कुरै भएन ।

असगरको योजनामा प्रधानमन्त्री ओली ‘कन्भिन्स’ भए ।

त्यसपछि असगर यही योजना लिएर शिक्षामन्त्री विद्या भट्टराई समक्ष जान्छन् र आफ्नो योजना सुनाउँछन् । तर, मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले त्यहि काम गर्दै आएको छ । उक्त केन्द्रले अडियो र भिडियो सामग्री उत्पादन गर्दै आएको छ । जुन काम सरकारी निकायले गरिरहेको छ, त्यही किन निजी कम्पनीलाई दिने भनेर उनले स्वीकार गरिनन् ।

निजी कम्पनीलाई सो काम नदिने भन्दै मन्त्री भट्टराईले उक्त प्रस्ताव ठाडै अस्वीकार गरे पछि भाउन्न भएका असगर सबै नालीबेली प्रधानमन्त्री ओलीलाई सुनाउँछन् । आफैले बनाएको मन्त्रीले नटेरेको भन्दै शिक्षामन्त्रीमाथि खनिएका प्रधानमन्त्रीले स्वयम्को योजना पनि मिसिएकाले प्रधानमन्त्री पदको प्रयोग गर्दै शिक्षा मन्त्रालयले गर्नुपर्ने काम प्रधानमन्त्री कार्यालयबाट अगाडि बढाए ।

असगरको कम्पनीले निर्माण गरेको ‘एम्बिसन गुरु’ एपको प्रवद्र्धन गर्न शिक्षा मन्त्रालयको कर्मचारी तानेर प्रधानमन्त्री कार्यालयबाट असगरको इच्छा अनुसारको काम अगाडि बढाइन्छ र त्यसका लागि केन्द्रको श्रव्य दृश्य शाखा प्रमुख उपसचिव गोविन्द अर्याललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेर असगरको कम्पनीको स्वार्थमा प्रयोग गरिन्छ ।

आर्थिक लाभ लिनका लागि एसइईको पूर्व तयारी कक्षालाई निसाना बनाएका असगरले तयारी कक्षाको जिम्मा ‘एम्बीसन गुरु’लाई जिम्मा दिएका थिए । कक्षामा जोडिनका लागि प्रधानमन्त्री ओलीले नै विद्यार्थीलाई आग्रह गरे, त्यसमा जोडिन चाहिने थियो मोबाइल नंबर ।

सरकारले नै निःशुल्क रुपमा एसइईको तयारी कक्षा सञ्चालन गर्ने र विद्यार्थीलाई डाटाका लागि रिचार्ज पनि उपलव्ध गराउने भएपछि रेजिस्ट्रेशनका लागि घुइँचो नै लाग्छ र एम्बीसन गुरुमा अनलाईन कक्षाका लागि झण्डै दुई लाख विद्यार्थी जोडिन्छन् । दुर्गमबाट अनलाईन कक्षामा सहभागी भएका विद्यार्थीहरुलाई रिचार्ज पनि उपलब्ध गराइएको थियो ।

यहि घटनालाई मध्यनजर गर्ने हो भने एसइईको तयारी कक्षाका लागि एम्बीसन गुरुमा जोडिएका २ लाख विद्यार्थीको सम्पूर्ण विवरण असगर अलिसँग रह्यो र ति डाटाहरु सुरक्षित छैनन् कि भन्ने आशंका उब्जिएको छ । उनले ती विद्यार्थीको डाटा तस्करी गरेर विद्यालयहरुलाई पठाई लाखौं रुपैयाँ उठाउने गरेको समेत चर्चा चलेको छ ।

यस्ता गतिविधि मन्त्री भट्टराईले थाहा पाएपछि हस्तक्षेप गरेकी थिइन् । यसै कारणले मन्त्री र सल्लाहकारबीचको सम्बन्ध बिग्रिएको र अन्ततः प्रधानमन्त्रीको ओलीले सल्लाहकारको कुरा सुनेर मन्त्रीलाई नै मिल्काइदिएको बुझिएको हो ।

बाहिर भन्न त, राजीनामाको कारण भट्टराईले ‘स्वास्थ्य’ भनेकी छन्। तर, चासो राख्नेहरू त्यसलाई मान्न तयार छैनन्।

नेपालको आइटी क्षेत्रमा गतिलै नाम कमाएका अजगर नामी ह्याकर पनि हुन् । यसअघि नै अलीले सार्वजनिक निकायका रहेका आम नागरिकका राहदानी विभागमा भएको डाटा, श्रम विभागसँग भएका डाटा, यातायात व्यवस्था विभागमा भएका ड्राइभिङ लाइसेन्सको डाटा र राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रसँग रहेका सम्पूर्ण डाटाहरु उपलब्ध गराउन कार्यालय प्रमुखहरूलाई निरन्तर दबाब दिएको समाचार समेत प्रकाशन भएका छन् ।

त्यसैगरी उनले पदको दुरुपयोग गर्दै व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका निम्ति सरकारका विभिन्न निकायमा रहेका सूचना अनधिकृत रूपमा संकलन गरेको तथ्य पनि बाहिरिएको थियो ।

त्यति मात्र होइन, आफैले डेभलप गरेको ‘काठमाण्डु प्रेस’ न्युज पोर्टलको साइट ह्याक गरेर अनिधिकृत रुपमा समाचार हटाइदिएका थिए । ‘काठमाडौं प्रेस’ अनलाइनले चीनबाट कोरोना भाइरसविरुद्ध आवश्यक सामान खरिदको अनियमिततामा सामेल रहेको समाचार प्रकाशित गरेको थियो । असगर उक्त समयमा पनि प्रधानमन्त्रीको आइटी सल्लाहकार नै थिए । त्यसपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज नाम बाहिर आएको थियो । उक्त समाचार बाहिरिए लगत्तै बैंकका सञ्चालकहरु चिन्तित बनेका थिए । किनकी असगर अलिसँग जोडिएको एफवान सफ्टले धेरै बैंक तथा वित्तिय संस्थाको मोबाइल बैंकिङ एप निर्माण गरेको थियो ।

सरकारी कार्यालयमा रहेका डाटा व्यक्तिगत स्वार्थमा प्रयोग गर्नका लागि राजनीतिक आडमा कार्यालय प्रमुखलाई दवाब दिने असगरले के विद्यार्थीका डाटाहरु अब सुरक्षित राख्लान् त ? भन्ने प्रश्न उब्जिएको छ ।

Logo