हेटौंडा
रक्सौल देखि अमलेखगन्ज सम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत काम सकिएको छ । नेपाल आयल निगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार रक्सौल देखि अमलेखगन्ज सम्म ३७ दशमलव ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्यक्रम अन्तर्गत १९ किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको हो ।
रक्सौलदेखि अमलेखगन्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन विस्तारको काम द्रुत गतिमा भइरहेको परियोजनाका प्रमुख भानुभक्त खनालले जानकारी दिए ।
नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने मार्गमा पर्सा वन्यजन्तु आरक्षण क्षेत्रमा पर्ने रूख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको खनालले बताए । उनका अनुसार रूख कटान गर्ने जिम्मेवारी टिम्बर कर्पोरेसनलाई दिइएको छ भने काटिएका रूखको क्षतिपूर्ति आयल निगमले वन मन्त्रालयलाई दिने सहमति भएको छ ।
सो आरक्षण क्षेत्रबाट करिब ५ हजार ८८८ रूख काट्ने सहमति भएको बताइएको छ । रूख कटान हुनासाथ एक महिनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने खनालको भनाइ छ । पाइपलाइन विस्तारका लागि आरक्षण क्षेत्रको १० किलोमिटर जंगल छ । २०१८ अप्रिलबाट पाइपलाइन बिछ्याउने काम सुरु भएको र अवरोध हटेकाले एक महिनामा पूरा हुने खनालको
दाबी छ ।
रासस































प्रतिक्रिया