‘प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुनै सक्दैन’ : राज्यमन्त्री मानन्धर

‘प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुनै सक्दैन’ : राज्यमन्त्री मानन्धर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अरु कोही हुनै नसक्ने बताएका छन् ।

आज राजधानीमा फकस नेपालले आयोजना गरेको कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भूमिका विषयक अन्तर्क्रियामा राज्यमन्त्री मानन्धरले ओलीको विकल्प कोही नभएको बताएका हुन् । ७० वर्षे कालखण्डमा बनेको सबैभन्दा शक्तिशाली सरकार ओली नेतृत्वमा बनेको उल्लेख गर्दै उनले ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पुरा हुने बताए।

उनले आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिवद्धता अनुसार वर्तामान सरकारले काम गरिरहेको बताए। जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउने जिम्मेवारी नेकपाले पाएको उल्लेख गर्दै उनले जनमतको अवमूल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताए।

मन्त्री मानन्धरले नेकपामा देखिएको विवाद समाधानका लागि शिर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्ने गरी निर्णय आउने दाबी गरे । पार्टीमा केही राजनीतिक विवाद देखिए पनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उनले बताए । जनताले महसुस गर्ने गरी काम भइरहेको बताउँदै मन्त्री मानन्धरले ठूला परियोजनाहरुको निर्माण र समानुपातिक विकासका लागि सरकारको प्रयास सार्थक हुँदै गएको दाबी गरे ।

मन्त्री मानन्धरले कोरोना नियन्त्रणमा सरकारले सबै उपाय अवलम्वन गरेको बताउँदै जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराखिने बताए। दक्षिण एसियाली मुलुकमध्ये नेपालले स्रोतले भ्याएसम्म सबैभन्दा राम्रो व्यवस्थापन मिलाएको दाबी गर्दै मन्त्री मानन्धरले निःशुल्क उपचारका सबै प्रक्रिया सहज बनाइएको बताए।

Logo