सुनको मूल्य दिनहुँ उचालिँदै, के दुई लाख कट्ने निश्चित हो ?

सुनको मूल्य दिनहुँ उचालिँदै, के दुई लाख कट्ने निश्चित हो ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर वृद्धि भइराख्दा यसको मूल्यले ऐतिहासिक उचाइ छोइसकेको छ । आगामी दिनहरूमा यो दर अझै बढ्ने प्रक्षेपण गरिराखिएको अवस्थामा सामान्य मानिसको पहुँच बाहिर सुनको मूल्य हुन थालिसकेको अवस्था हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य महिनामा केही दिन गिरावट आएपनि अधिकांश दिन वृद्धि हुँदै आएको छ । प्रतितोला सुन २ लाख रुपैयाँको आसपास आइपुगेको अवस्थामा यो उचाई सुनले छिटै कायम राख्ने विशेषज्ञहरू पनि बताउँछन् ।

वर्तमान आर्थिक परिस्थिति, मुद्रा बजारमा आएको अस्थिरता, अन्तर्राष्ट्रिय तनाव र केन्द्रीय बैंकहरूको सुनको सञ्चय नीतिले सुनको मूल्यलाई दिनप्रतिदिन नयाँ रेकर्डतर्फ धकेलिरहेको छ । यसरी हेर्दा अब सुनको मूल्य प्रतितोला दुई लाख रुपैयाँ पुग्ने सम्भावना बलियो देखिएको व्यवसायीहरू बताउँदै आएका छन् ।

विशेषगरी अमेरिकी डलरमा आएको स्थिरता तथा लगानीकर्ताको सुरक्षित विकल्पतर्फको आकर्षणका कारणले सुनचाँदीको मूल्यमा प्रभाव पारेको आंकलन गरिन्छ । महासंघ अध्यक्ष अर्जुन रसाइलीका अनुसार सुनको माग उच्च साथै आपूर्ति तुलनात्मक रूपमा सीमित हुँदा मूल्य चुलिएको छ ।

‘चीन र अमेरिकाको व्यापारिक वार चलिरहेको छ, अमेरिका र चाइनाको सहज रूपमा वार्ता भयो भने सुनको भाउ डाउन हुनसक्छ, यदि भएन भने सुनको भाउ अझै बढ्नसक्ने अवस्था छ,’ उनले भने । सुनको मूल्य वृद्धिमा अमेरिकाको मौद्रिक नीति परिवर्तन, फेडरल रिजर्भको व्याजदारसम्बन्धी निर्णय र चीनजस्ता देशद्वारा सुन सञ्चयमा दिएको प्राथमिकताले पनि प्रभाव पारेको छ ।

रसाइलीले पनि प्रतितोला सुनको मूल्य आगामी केही महिनामा दुई लाख रुपैयाँ नाघ्नसक्ने बताए । ‘सुनको मूल्य केही समय अगाडि नै दुई लाख कट्ने देखिन्थ्यो, तर डलरको मूल्य घट्दा यसको मूल्य पनि घट्यो, केही समय अगावै दुई लाख कट्ने आकलन गरिएको थियो,’ उनले भने ।

नेपालले दैनिक २० केजीसम्म सुन आयात हुँदै आएको छ । महासंघका निवर्तमान अध्यक्ष माणिक रत्न शाक्यले भने नेपालमा सुन आयातको कोटालाई हटाउनु पर्ने बताए । ‘नेपालीहरूको क्रय शक्ति नबढ्दा बैंकमा १५० केजी बढी सुन स्टकमा छ, २० केजी आयातकाे जुन कोटा छ, त्यो अनुसारको खपत हुनसकेन भने कोटको अर्थ के ? त्यसैले खुल्ला अर्थतन्त्रको नीति अनुसारले आवश्यकता बमोजिम आयात गर्ने वातावरण खोज्नु पर्छ,’ उनले भने ।

सुनको माग भएको बेला ३०/४० केजी पनि र डिमान्ड नभएको बेला ५/१० केजी मात्रै सुन आयात गर्न मिल्ने व्यवस्था मिलाउनु पर्ने उनको धारणा छ । नेपालीहरूको आम्दानीमा वृद्धि नहुँदा सो अनुसारको सुनको खपत नेपालमा नभएको शाक्यले जानकारी दिए ।

नेपालमा सुन विवाह, चाडपर्व र सांस्कृतिक प्रयोजनमा बढी प्रयोग हुने हुँदा यसको मूल्यवृद्धिले सर्वसाधारणलाई प्रत्यक्ष असर पार्ने देखिन्छ । व्यापारिक तहमा समेत सुनको कारोबार घटेको व्यवसायीहरू बताउँछन् । मूल्य बढी भएका कारण बजारमा सुनको माग कम रहेको शाक्यको भनाई छ ।

यद्यपि सुनको मूल्यमा समायोजन हुनसक्ने आकलन गरिएको छ । विश्व आर्थिक अवस्था स्थिर हुँदै गयो भने लगानीकर्ताहरूको ध्यान फेरि सेयर वा अन्य सम्पत्तितर्फ जानसक्ने भएकाले सुनको मूल्य घट्ने बताइएको हो । तर, हालको प्रक्षेपण हेर्दा सुन अझै केही समय ‘बुल मार्केट’मा रहने संकेत देखिएको छ ।

निवर्तमान अध्यक्ष शाक्यले पनि सन् २०२५ भित्रै सुनको मूल्य २ लाख नाघ्ने बताउँछन् । ‘सुनको मूल्य निरन्तर वृद्धि भइराख्दा करेक्सन आउनसक्छ, त्यो बेला भाउ घटेर जाने नै हो, संसार भरिनै सुनको मूल्य उथलपुथल भइरहेको अवस्थामा सुनको मूल्य धेरै माथि जाने सम्भावना छ,’ उनले भने ।

सुनको मूल्य ४ महिनाको अन्तरालमा २५ प्रतिले वृद्धि भएको पनि शाक्यले जानकारी दिए । गोल्डम्यान साच जस्ता संस्था तथा विश्लेषकहरूले सुनको मूल्य आगामी ६ महिनाभित्रै उच्च मूल्य पुग्नसक्ने अनुमान गरेका छन् । यदि त्यो अवस्था आयो भने नेपालमा प्रतितोला सुनको मूल्य २ लाख ३० हजारभन्दा माथि पुग्नसक्छ ।

सुनको मूल्यले दैनिक नयाँ उचाइ समातिरहँदा घरेलु उपभोक्तादेखि व्यापारी, लगानीकर्ता र नीति निर्माता सबैका लागि यो एउटा चुनौतीपूर्ण अवस्था बनेको छ । यदि विश्व बजारमा सुनको मूल्य वृद्धि हालको गति कायम गरी रह्यो भने निकट भविष्यमै सुन प्रतितोला लाखौं पुग्ने सम्भावना बलियो छ ।

सुनको जोहो गर्ने समय यो हो ?

विश्वव्यापी आर्थिक अनिश्चितता तथा सम्भावित मन्दीको डरले लगानीकर्ताहरू सुरक्षित सम्पत्ति रोजिरहेका छन् । जसको कारण सुनको माग बढ्दो छ । विश्वका धेरै बैंकहरुले सुनको सुरक्षित राख्ने जमर्को गरिराख्दा आम नागरिकहरू पनि यसप्रति मोहित छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका ट्यारिफहरूले व्यापारमा तनाव बढाउँदा सुनको मूल्य उचालिएको केहीले अनुमान गरेका छन् । जे होस् नेपालमा सुन सम्पत्ति र गहनाको लागि उपयुक्त ठानिन्छ । सुनको मूल्य उच्च भइराख्दा विशेष गरी विवाहको कार्यक्रमलाई निकै खर्चिलो बनाएको छ ।

धेरैले सुन बढ्ने विषयको मध्यनजर गर्दै यस अगावै सुनको सुरक्षित गरिसकेका छन् । केही सुन किन्ने जमर्को गरिरहेका छन् । तर, निवर्तमान अध्यक्ष शाक्य भने संसार भर सुनप्रतिको मोह बढ्दो सुन किन्ने समय अगाडि नै रहेको बताए ।

सुनलाई सम्पत्तिको रूपमा हेरेर संसार भरका बैंकले सुन किन्न थालेपछि यो सामान्य मान्छेले किन्नसक्ने अवस्थामा नरहेको शाक्यको भनाई छ । ‘पार्टीको भोजमा जो पहिला पुग्छ, त्यसले धेरै खान पाउँछ, अहिले हामी भोजको मध्यम-मध्यममा पुगि सकेका छौं, अगाडि जानेहरूले माजाले खाइसके, तर भोज नसकिएकाले यो समय सुन बजारमा प्रवेश गर्नु उचितै हुन्छ,’ उनले भने ।

सुनको मूल्य अझै बढ्ने सम्भावना भएकाले अहिलेको समय पनि सुन किन्न इच्छुकहरूलाई उपयुक्तै हुने उनको तर्क छ । यस्तै, अध्यक्ष रसाइलीले सुनमा गरेको लगानी भरपर्दो आम्दानी रहेको बताए । ‘सुनको मूल्य घट्यो भने ९/१० हजार घट्ने हो, बढ्यो भने दुई लाख क्रस पनि हुनसक्छ, अहिलेको बजारमा उपभोक्तालाई हामी सुनमा लगानी उचित नै हुन्छ भन्छौं,’ उनले भने ।

नेपालीहरूको क्रय शक्तिले सुन किन्नसक्ने कि नसक्ने भन्ने अवस्थामा पुगेको रसाइलीले जानकारी दिए । विवाह आदि कार्यक्रममा सुन किन्ने तर, सोखले सुन किन्ने अवस्था नरहेको उनको भनाई छ । बजारको अवस्था, आर्थिक नीतिहरू, मुद्रास्फीति, अन्तर्राष्ट्रिय स्थिति र व्यक्तिगत लगानी योजनाले सुन किन्ने विषयमा प्रभाव पर्ने भएकाले यसको निर्णय तपाईंको आफैले लिनु उचित हुन्छ ।

Logo