काठमाडौं । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले २३ जना प्रतिवादीलाई सुनाइएको जन्मकैदको सजाय सदर गरेको छ ।
रुकुम पश्चिम जिल्ला अदालतको फैसलालाई मंगलबार न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सदर गरेको हो । यससँगै घटनाका मुख्य दोषीहरूले अब २५ वर्ष कारागारमा बिताउनुपर्ने छ।
यसअघि जिल्लाले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँका डम्बरबहादुर मल्ल (तत्कालीन वडा अध्यक्ष), नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल र विष्णु मल्लसहित नवराजकी प्रेमिकाका बुबा र दाजुलाई जन्मकैदको फैसला सुनाएको थियो।
तर, त्यसमा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला अदालतले सुनाएको दुई वर्षको कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला भने उच्चले उल्टाइदिएको छ । नवराजकी प्रेमीका, उनकी आमा र दाइलाई जातीय छुवाछूतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो । तर, त्यो आदेश बदर भएको हो ।
२०७७ जेठ १० गते नवराज आफ्नी प्रेमिकालाई भगाउन साथीहरूसहित सोती पुगेका बेला गाउँलेले आक्रमण गर्दा नवराजसँगै उनका साथीहरु २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही पनि सोती घटनामा मारिएका थिए । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो ।





























प्रतिक्रिया