नेपाल र अजरबैजानबीच राजनीतिक परामर्श बैठक सम्पन्न

नेपाल र अजरबैजानबीच राजनीतिक परामर्श बैठक सम्पन्न

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल र अजरबैजानका परराष्ट्र मन्त्रालयबीच पहिलो पटक राजनीतिक परामर्श बैठक बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले तथा अजरबैजान गणराज्यका उपविदेशमन्त्री एलनुर मम्मादोभले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

बैठकमा दुवै पक्षले नेपाल–अजरबैजान सम्बन्धका समग्र पक्षहरूको समीक्षा गर्दै आगामी दिनहरूमा यी सम्बन्धहरूलाई थप सुदृढ पार्ने प्रतिबद्धता पुनः पुष्टि गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा द्विपक्षीय सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलगायत पारस्परिक हितका विषयहरूमा पनि छलफल भएको थियो । दुबै पक्षले व्यापार तथा लगानी, पर्यटन तथा संस्कृति, शिक्षा, जलवायु परिवर्तन तथा स्वच्छ ऊर्जालगायत क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई थप अभिवृद्धि गर्ने उपायहरूबारे छलफल गरेका मन्त्रालयले जनाएको छ ।

दुई देशका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन नियमित संवादका लागि द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकपश्चात्, परराष्ट्र सचिव राईले उपविदेशमन्त्री मम्मादोभ तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । आफ्नो नेपाल भ्रमणका क्रममा उपविदेशमन्त्री मम्मादोभले उच्चस्तरीय व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनी लगानी बोर्ड नेपालद्वारा आयोजना गरिने एक गोलमेच छलफलमा सहभागी हुने तथा एक छुट्टै कार्यक्रममा अजरबैजानको परराष्ट्र नीतिबारे प्रवचन दिने कार्यक्रम पनि रहेको छ ।

उप विदेशमन्त्री मम्मादोभ र उनको प्रतिनिधिमण्डल यही वैशाख २० गते काठमाडौँबाट प्रस्थान गर्नेछ ।

Skip This
Skip This
Logo