पूर्वब्रिटिश लाहुरे गर्बुजा यसरी बने उर्जा राज्यमन्त्री

पूर्वब्रिटिश लाहुरे गर्बुजा यसरी बने उर्जा राज्यमन्त्री

केन्द्रबिन्दु
360
Shares

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्च अधिकारी उपस्थित रहेको कार्यक्रममा उनले सपथ लिएका हुन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

उर्जामन्त्री दीपक खड्कालाई सहयोग नगरेको कारण देखाउँदै प्रधानमन्त्री ओलीले यसअघिका ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका थिए । तामाङ प्रधानमन्त्रीको बर्खास्तीमा परेपछि पद रिक्त थियो । राज्यमन्त्रीको पद रिक्त भएसँगै प्रधानमन्त्री ओलीले कांग्रेसका सांसद खमबहादुर गर्बुजालाई नियुक्त गर्न सिफारिस गरेका थिए ।

उर्जामन्त्रीको बर्खास्ती र नियुक्तीको विषय पछिल्लो समय सामान्य रहेको छ । हुन त प्रधानमन्त्रीले आफू अनुकूल नभएका मन्त्रीलाई आफुले चाँहेकै समयमा कारण देखाइ बर्खास्त गर्न सक्छन् र नियुक्तीका लागि पनि प्रकृया अगाडि बढाउने अधिकार छ । तर अस्थिरताको राजनीति भइरहेका बेला बर्खास्ती र नियुक्ती प्रकृया चल्नु सकारात्मक हाेइन ।

यस्तो छ, नवनियुक्त राज्यमन्त्री गर्बुजाको राजनीतिक पृष्ठभूमि

नवनियुक्त उर्जा राज्यमन्त्री गर्बुजाको पृष्ठभुमि सैनिकसँग जोडिन्छ । म्याग्दीका गर्बुजा २०५३ सालमा बेलायती सैनिकबाट अवकाश पाएपछि राजनीतिमा होमिए । २०७० सालको दोस्रो संविधान सभाको चुनाव र २०७४ सालको चुनावमा दुई पटक हार व्यहोरेका गर्बुजाले गत २०७९ को चुनावमा टिकट साटेर जित हासिल गरे । यसअघि २०६४ सालको चुनावमा समानुपातिक उम्मेदवारको सूचीमा नाम परेको थियो र सांसद बने ।

उनले टिकट साटेर उनी सांसद मात्रै बनेनन्, उनी अहिले उर्जा राज्यमन्त्री समेत बनेका छन् । २०७९ सालको चुनावपछि उनी राज्यमन्त्री बन्न पुगे । २०७९ सालको चुनावबाटै म्याग्दीमा २३ वर्षपछि गर्बुजाले कांग्रेसको जित समेत फर्काए ।

यसअघिका चुनावमा उनी कांग्रेसभित्र संस्थापन सुशील कोइराला–रामचन्द्र पौडेल समूहबाट चुनाव लडेका थिए तर हारे । सुशीलपछि पछिल्लो चुनावमा भने उनी सभापति देउवा समूहबाट टिकट पाए र जिते पनि । देउवाको साथ पाउँदा अहिले गर्बुजाले राज्यमन्त्रीसमेत पाए । केही समयअघि पुगेका कांग्रेस सभापति देउवाले म्याग्दीले छिट्टै मन्त्री पाउने बताएका थिए। जुन बचन पूरा पनि भयाे ।

सैनिकबाट अवकास पाएपछि राजनीतिमा सक्रिय भएका गर्बुजा म्याग्दी कांग्रेसमा अहिले दोस्रो कार्यकालका लागि सभापति छन् ।

कांग्रेसको म्याग्दीमा दरिलो खम्बा बनेका बेलायती पूर्वसैनिक गर्बुजा अवकासपूर्व नै कांग्रेसको राजनीतिमा सक्रिय थिए । लाहुरे जीवनबाट अवकास लिएर कांग्रेसी राजनीतिमा छिरेका गर्बुजाले चुनावी मैदानमा लगातार हार व्यहोरेपनि उनले राजनीति भने छाडेनन् । २०५३ सालदेखि लगातार राजनीतिमा सक्रिय भएका गर्बुजाको राजनीतिक यात्राले राज्यमन्त्री बनेसँगै नयाँ मोड लिएको छ । श्रीमती र छोराछोरीलाई बेलायततिरै छोडर राजनीतिमा सक्रिय भएका गर्बुजा नेपालमै बसेर कांग्रेसको राजनीति गर्दै अहिले मन्त्री बन्न सफल भएका छन् ।

Skip This
Skip This
Logo