विकल पौडेललाई तोकियो दुई वर्ष कैद सजाय, साढे १३ करोड जरिवाना

विकल पौडेललाई तोकियो दुई वर्ष कैद सजाय, साढे १३ करोड जरिवाना

केन्द्रबिन्दु
216
Shares

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रको तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेज नारायण सिंह राई र राम बहादुर थापाको संयुक्त इजलासले पौडेलसहित म्याक्स इन्टरनेशनल प्रालि र सो कम्पनीका सिइओ अकबर हुसेनलाई भ्रष्टाचारी ठहर गरेको हो।

विशेषले अख्तियारको दावीबमोजिम ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दा उनीहरुमाथि जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना गरी प्रतिवादीबाट असुलउपर गर्नुपर्ने फैसलासमेत भएको छ।

पौडेलविरुद्ध दुई कसुरमा गरी दुई वर्ष कैदको सजाय ठहर भएको छ भने अकबर हुसेनलाई डेढ वर्ष कैद ठहर भएको छ। पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम १ वर्ष ६ महिना कैद र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप ६ महिना कैद समेत हुने ठहर गरेकाे हाे ।

साथै यस प्रकरणमा मुछिएका प्रतिवादीहरु सफल श्रेष्ठ, नवीन कुमार पोखरेललगायतले भने सफाइ पाएका छन् ।

“अन्य प्रतिवादीहरु सफल श्रेष्ठ, नवीन कुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्क बहादुर थापाको हकमा हेर्दा, निज प्रतिवादीहरुलाई कार्यकारी निर्देशक प्रतिवादी विकलं पौडेलको निर्देशानुसार खरिद प्रक्रियामा संलग्न गराएको‘देखिए तापनि निज प्रतिवादीहरुको उक्त खरिद कार्यमा कुनै निर्णायक भूमिका रहेको नदेखिएको, खरिद प्रक्रियामा आफ्नो पदीय दायित्व बमोजिमको कार्यसम्म गरेको हुँदा आरोपित कसूरमा निजहरुको कुनै बदनियतपूर्ण संलग्नता देखिन नआएकोले निज प्रतिवादीहरुले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ।” फैसलामा भनिएको छ।

Logo