काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित दर्ता गरेको छ । आज भएको खेलमा राजस्थानलाई हराउँदै कोलकाताले प्लेअफ होड कायमै राखेको हो ।
कोलकाताले दिएको २०६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०५ रनमै समेटियो । राजस्थानका लागि कप्तान रियान परागले सर्वाधिक ९५ रनको योगदान गरे । उनले लगातार ६ बलमा ६ छक्का हानेका थिए । उनले मोइन अलीको ओभरमा ५ र वरुण चक्रवर्तीको ओभरमा छैटौँ छक्का हानेका हुन् । ४५ बल खेलेका उनले ६ चौका र ८ छक्का प्रहार गरेका थिए ।
राजस्थानको जितमा अन्तिम बलमा ३ रन चाहिएको थियो । तर शिवम् दुवेले एक रनमात्रै जोड्न सके । त्यहाँ पनि जोफ्रा आर्चर आउट भए ।
त्यसअघि टस जितेर ब्याटिङ गर्दै २० ओभरमा कोलकाताले ४ विकेट गुमाएर २०६ रन बनाएको थियो । कोलकाताका लागि आन्द्रे रसेलले २५ बलमा ५७ रन बनाएर अविजित रहे । उनले ६ छक्का र ४ चौका हाने । रिंकू सिंह ६ बलमा १९ रन बनाएर अविजित रहे ।





























प्रतिक्रिया