सुमना श्रेष्ठले दिएको राजीनामा महिना दिन बित्दा पनि रास्वपा अनिर्णीत !

सुमना श्रेष्ठले दिएको राजीनामा महिना दिन बित्दा पनि रास्वपा अनिर्णीत !

मनिष झा भन्छन्- यो प्राथमिकताको विषय होइन

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले सह-महामन्त्री पदबाट राजीनामा दिएको एक महिना वितिसक्दा पनि अनिर्णीत बनेको छ ।

गत चैत १८ गते सभापति रवि लामिछाने आफ्नो जिम्मेवारीमा फर्किएको दिन पार्टीको केन्द्रीय समितिमा उनले पार्टीभित्र पदको दायित्व वहन गर्न नसक्ने व्यक्तिले राजीनामाका लागि सोच्न निर्देशन दिएपछि सोही दिन श्रेष्ठले ‘एक व्यक्ति एक पद’ भन्दै राजीनामा बुझाएकी थिइन् ।

२०८० मंसिर ११ गते जलेश्वरमा बसेको बैठकबाटै नेतृत्व हस्तान्तरण र ‘एक व्यक्ति, एक पद’बारे आवाज उठाउन थालेकी श्रेष्ठले अवसर पाउने वित्तिकै सह-महामन्त्री पदबाट राजीनामा दिएको एक महिना वित्नै लाग्दासमेत उक्त विषयमा पार्टीका कुनै पनि बैठकमा छलफल भएको छैन ।

श्रेष्ठले दिएको राजीनामा प्राथमिकताको विषय नभएको उल्लेख गर्दै रास्वपाका प्रवक्ता मनिष झाले पार्टीका बैठकमा कुनै छलफल नभएको बताए । ‘राजीनामाको विषयमा छलफल भएको छैन । त्यो विषय खासै प्राथमिकताको विषय हैन । सभापति ज्यूको विषय छ, बजेट अधिवेशनको कुरा छ । संगठन जनयात्राको कुरा छ, यस्तै विभिन्न प्राथमिकता छ,’ उनले भने, ‘संगठनमा त्यसैले यो विषयमा खासै छलफल भएको छैन ।’

सभापति लामिछाने राजनीतिमा सक्रिय भएको पाँच दिनमै पक्राउ परेपछि श्रेष्ठको राजीनामाको विषय गोप्य राखिएको थियो । तर लामो समय भने गोप्य रहन सकेन। लामिछाने कारागारमा रहेको केही दिनमै रास्वपाकै एक केन्द्रीय नेताले उक्त खबर सञ्चारमाध्यमलाई बताएपछि हंगामा नै मच्चिएकाे थियाे ।

यति मात्रै होइन, श्रेष्ठले शिक्षा मन्त्री हुँदासमेत ‘एक व्यक्ति एक पद’ हुनुपर्ने धारणा राखेको बताएकी थिइन् । ‘एक व्यक्ति एक पद’ मैले शिक्षा मन्त्रालयमा छँदा पनि एक व्यक्ति दुई पदमा हुँदा काममा पुग्ने बाधा भागेको थिएँ, त्यसैले वैकल्पिक पार्टी कस्तो हुने भन्ने बहसमा एक व्यक्ति एक पद हुनुपर्छ भन्ने मान्यता राख्दै आएको थिएँ ।’ उनको भनाइ थियो, ‘पार्टीको संरचनाले सांसदलाई नियन्त्रण र सन्तुलनमा राख्नुपर्छ । एउटै मान्छे दुवै ठाउँमा भयो भने उसको निर्वाचनमा मात्रै मूल्याङ्कन हुन्छ जबकी मूल्याङ्कन हुनुपर्ने हरेक दिन हो ।’

श्रेष्ठले ‘एक व्यक्ति एक पद’ का लागि मात्रै आवाज उठाएकी छैनन् । उनले नेतृत्व हस्तान्तरणबारे पनि आवाज उठाउन थालेकी हुन् । तर सभापति लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयले अल्झिएको छ ।

श्रेष्ठले राजीनामा दिने वेला सभापति लामिछानेबीच सम्बन्ध चिसिएको टिप्पणी गरेका थिए । तर उक्त टिप्पणी गलत भएको बताएकी थिइन् ।

राजीनामा पत्रमा श्रेष्ठले एक व्यक्ति एक पदको अवधारणा लागू गर्न आफू सहमहामन्त्रीबाट अलग हुने विषयसँगै पार्टीप्रति पनि आफ्ना असन्तुष्टिहरू उल्लेख गरेकी थिइन् । पदाधिकारी भएर पनि पार्टीको निर्णय बाहिरबाट थाहा पाउनु परेको गुनासो उनकाे थियाे । साथै, जनताले रास्वपाबाट धेरै आशा राखेको भए पनि पार्टीले डेलिभरी दिन सक्ने क्षमता शून्य भएको उनको राजीनामा पत्रमा उल्लेख गरेकी थिइन् ।

राजीनामा पत्र सभापति लामिछाने सक्रिय राजनीतिमा फर्किएकै समयमा दिएको तर अचानक सभापति पुनः पक्राउ परेपछि ‘होल्ड’ मा रहेको छ । कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले सम्हालिरहेका छन । सभापतिको अनुपस्थितिमा उनका सबै जिम्मेवारी र अधिकार कार्यवाहक सभापतिमा सर्ने रास्वपाको विधानमा छ । त्यसैले विधानतः डीपीले नै राजीनामा स्वीकृत गर्न सक्छन् । तर, उनले अहिलेसम्म यसमा कुनै निर्णय लिएका भने छैनन् ।

Skip This
Skip This
Logo