काठमाडौं । नेपालका वरिष्ठ वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको मंगलबार निधन भएको छ । ७१ वर्षको उमेरमा नर्भिक अस्पताल, काठमाडौंमा उपचारको क्रममा दिउँसो सवा ४ बजे उनले अन्तिम सास फेरे । उनी केही वर्षदेखि पार्किन्स रोगबाट पीडित थिए ।
वि.सं २०१० सालमा भोजपुरको गोगने गाउँमा जन्मिएका प्रदीप नेपाल शिक्षित र बौद्धिक परिवारमा हुर्किएका थिए । बाल्यकालदेखि नै लेखपढप्रति रुची राख्ने प्रदीप नेपालले भारतीय शहर बनारसमा उच्च शिक्षा प्राप्त गरेका थिए, जहाँ उनी वामपन्थी राजनीतिक विचारप्रति आकर्षित भएका थिए ।
२०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उनले राजनीतिक जीवन प्रारम्भ गरेका थिए ।
नेकपा (माले) स्थापनापछि कठोर भूमिगत कालमा लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गरेका उनी चर्चित नख्खु जेल ब्रेक काण्डका एक पात्र हुन् । उनी सशक्त वक्ता मात्र होइन, प्रष्ट दृष्टिकोण भएका नेताका रुपमा पनि परिचित छन् । प्रदीप नेपालको राजनीतिक जीवन नेपाल कम्युनिष्ट पार्टी (माले) हुँदै एमालेमा विकसित भएको थियो । २०४६ सालको जनआन्दोलनपछि नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनासँगै उनले पार्टीभित्र नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
पार्टी संरचनामा सधैँ शक्तिशाली रहे पनि उनले संसदीय निर्वाचनको टिकट भने कहिल्यै लिएनन् । उनको कुनै प्रस्ट गृह जिल्ला र निर्वाचन क्षेत्र थिएन । उनी जन्म जिल्ला भोजपुरमा चुनाव लड्न गएनन् । उनको रुचि काठमान्डौं–१ मा थियो ।
तर, यस निर्वाचन क्षेत्रको टिकट पाउन सकेनन् र राष्ट्रिय सभाको सदस्यमै सीमित भए ।
प्रदीप नेपाल राजनीतिमा मात्र होइन, नेपाली समाजमा प्रगतिशील सोच, समावेशी विचार र सादा जीवनशैलीको उदाहरणका रूपमा समेत परिचित थिए । नेपाल सन् १९९४ नोभेम्बर ३० देखि १९९५ सेप्टेम्बर १२ सम्म शिक्षामन्त्री बनेका थिए । त्यसैगरी सूचना तथा प्रविधिमन्त्री र वन तथा वातावरण मन्त्रालय सम्हालेका थिए ।
शिक्षामा सुधार, वातावरणीय चेतना र सञ्चारमाध्यमको विस्तारमा नीति निर्माणमा योगदान पुर्याएका उनका निर्णयहरू व्यवहारिक, विवेकसम्मत र दीर्घकालीन सोचमा आधारित हुने गरेको उनि निकट व्यक्तित्वहरु बताउँछन् ।
नेपाल राजनीतिमा मात्र नभई साहित्यमा पनि उत्तिकै सक्रिय थिए । लेख, रचनाहरू र सार्वजनिक अभिव्यक्तिहरू सधैं गम्भीर, सन्तुलित र समाजमा चेतना फैलाउने खालका हुन्थे। उनले कविता, समालोचना र राजनीतिक लेखनमा पनि कलम चलाएका छन् । नेपाली भाषाका साहित्यकार समेत रहेका नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए ।
राजनीतिमा उनको भूमिका बढ्दो विचारहीनताको बीचमा एकजना ‘बौद्धिक गार्डियन’ जस्तै थियो । उनले देखाएको सादगी, निष्ठा र वैचारिक स्पष्टता नेपाली राजनीतिका लागि दुर्लभ छन् । राष्ट्रका लागि स्पष्ट योजना र नीति सुझाव दिन कहिल्यै चुक्दैनथे । उनी माक्र्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्य हुन । एमाले मुखपत्र ‘नवयुग’ को संस्थापक प्रधान सम्पादक रहेका उनले दृष्टि र छलफल साप्ताहिकको सम्पादकको जिम्मेवारी पनि बहन गरे ।
नेपालमा पहिलोपटक सरकारी लगानीमा कालिगण्डकी जलविद्युत परियोजनाको थालनी उनको कार्यकालमा भएको हो । पछिल्लो समय नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सल्लाहकार थिए ।
प्रदीप नेपालको निधनले नेपाली राजनीति एउटा विवेकी, समर्पित र विचारशील व्यक्तित्वबाट वञ्चित भएको छ । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट टाढै रहेका थिए ।





























प्रतिक्रिया