काठमाडौँ
अनुगमनको बहानामा मन्त्रीहरूले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । मन्त्रीले सरकारी खर्च लिएर साथीको छोरीको जन्मदिन समेत मनाउने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोेतको दाबी छ । ‘कतिपय मन्त्रीले जिल्ला अनुगमनको नाममा रकम लिएर साथीको छोरीको जन्मदिन मनाउन जिल्ला गएको समेत भेटिएको छ,’ कार्यालयका एक उच्च अधिकारी भन्छन् ।
स्रोतका अनुसार अधिकांश मन्त्रीको अनुगमन प्रतिवेदन समेत विश्वासयोग्य छैन । कतिपय मन्त्रीले घरायसी, व्यक्तिगत र पार्टीको काममा खर्च गरेको रकम समेत सरकारी अनुगमनमा गएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भुक्तानीका लागि निवेदन दिएका छन् ।
प्रधानमन्त्री सहित हाल २५ मन्त्री छन् । उनीहरूले असार देखि असोज मसान्तसम्ममा जिल्ला भ्रमण र अनुगमनका नाममा ४० लाख ४० हजार ८३७ रुपैयाँ बुझिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रेकर्डमा उल्लेख छ ।
प्रधानमन्त्री कार्यालयमा अझै दर्जन बढी मन्त्रीको भ्रमण भुक्तानीको निवेदन दर्ता छ । पछिल्लो समयमा मन्त्रीहरूले जिल्ला भ्रमणको क्रमलाई तीव्रता दिएको पाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार यो अवधिमा मन्त्रीको इन्धनमा मात्रै ४१ लाख ८ हजार ३७३ रुपैयाँ सकिएको छ ।
यस्तै, मन्त्रीको तलबमा १ करोड ७१ लाख ४७ हजार १ रुपैयाँ र सञ्चार महसुलमा २ लाख ३१ हजार ४८२ रुपैयाँ सकिएको छ ।प्रधानमन्त्री कार्यालयका अनुसार सबैभन्दा बढी जिल्ला भ्रमणमा जाने र बढी खर्च गर्नेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ छन् । उनले जिल्ला भ्रमण र अनुगमनको नाममा चार महिनामा ४ लाख ५७ हजार ३१० रुपैयाँ सरकारी कोषबाट खर्च गरेका छन् ।
जिल्ला घुमघाम गर्नेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि अग्रस्थानमा छन् । उनले जिल्ला भ्रमणमा २ लाख ९६ हजार ९७० रुपैयाँ सकेका छन् । मन्त्रीहरूले जिल्ला भ्रमण सकेर फर्केपछि अनुगमनको उपलब्धि सहितको प्रतिवेदन अनिवार्य रूपमा प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ । तर अधिकांश मन्त्रीको प्रतिवेदन झारा टार्ने खालको रहेको कार्यालय स्रोतले जनाएको छ ।
मन्त्रीहरूले भ्रमणपूर्व प्रधानमन्त्रीसँग स्वीकृति लिनुपर्ने प्रावधान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल यो अधिकार प्रधानमन्त्री कार्यालयकै सचिवलाई प्रत्यायोजन गरेका छन् । प्रत्यायोजित अधिकारवालाको बेवास्ता गर्दै अधिकांश मन्त्रीले भ्रमण सकेर आएपछि ‘ब्याक डेट’ मा भ्रमण स्वीकृति र भुक्तानी लिने गरेका छन् ।
जिल्ला भ्रमणमा बढी रकम खर्च गर्नेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव पनि छन् । उनले २ लाख ५ हजार ४ सय र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले २ लाख १० हजार २५० रुपैयाँ सकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २ लाख २४ हजार ८५ रुपैयाँ जिल्ला भ्रमणमा सकाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले २ लाख ६१ हजार ५२० र उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १ लाख ५१ हजार ५ सय रुपैयाँ भुक्तानी लिएका छन् ।
सहरी विकासमन्त्री इस्तियाक राईले १ लाख ८१ हजार ८५०, खानेपानीमन्त्री विना मगरले १ लाख ५४ हजार ९५०, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले १ लाख २८ हजार ५० रुपैयाँ जिल्ला भ्रमणमा खर्चेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार भ्रमण भन्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ८८ हजार ६५०, अर्थमन्त्री युवराज खतिवडाले ९९ हजार ७ सय, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले ९८ हजार २५० रुपैयाँ खर्च गरेका छन् ।
राजधानीबाट





























प्रतिक्रिया