काठमाडौं ।
फुटबलका जिवित भगवान मानिने पेलेले अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाको निधनप्रति दुःख व्यक्त गरेका छन् । विश्वकप विजेता अर्जेन्टिनाका कप्तान म्याराडोनाको बुधबार हृदयघातका कारण ६० वर्षको उमेरमा निधन भएको थियो ।
म्याराडोनाको निधनपछि सामाजिक संजाल ट्वीटरबाट पेलेले श्रद्धाञ्जली व्यक्त गरेका छन् । ८० वर्षीय पेलेले आफूले महान साथी गुमाएको समेत बताएका छन् । यस्तै उनले आफूहरुले एक दिन आकाशमा फुटबल खेल्ने समेत बताएका छन् ।
‘कस्तो दुःखद समाचार । मैले एक महान् साथी गुमाएँ । विश्वले लिजेण्ड गुमाएको छ । धेरै कुरा भन्न बाँकी छ तर भगवानले उनको परिवारलाई बल दिउन,’ पेलेले लेखेका छन्, ‘एक दिन, म आशा गर्दछु कि हामी आकाशमा बल खेल्नेछौँ ।’
दुई साता अघि मात्र म्याराडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्याराडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् । म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३–२ ले हराएको अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।
त्यस समय म्याराडोना टिमका कप्तान रहेका थिए । अर्जेन्टिनाका लागि म्याराडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए । उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । सन् २००८ देखि २०१० को विश्वकपसम्म म्याराडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए । म्याराडोनाले बार्सिलोना, नापोली र सेभिया जस्ता युरोपका ठूला क्लबबाट खेलेका थिए ।































प्रतिक्रिया