सोखले मात्रै घरमा टेलिभिजन राख्ने प्रवृद्धि बढ्दो, युवा पुस्तामा किन छैन यसकाे चासाे ?

सोखले मात्रै घरमा टेलिभिजन राख्ने प्रवृद्धि बढ्दो, युवा पुस्तामा किन छैन यसकाे चासाे ?

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । सूचनाको मुख्य स्रोत मानिने टेलिभिजन अहिले धेरै घरमा केवल ‘सजावट’ र ‘परम्परागत उपकरण’ को रूपमा सीमित बन्दै गएको छ । डिजिटल र स्मार्ट प्रविधिका उच्च आगमसँगै स्मार्ट टेलिभिजनको समेत माग र प्रयोग घट्न थालेको हो ।

न्युरोडका व्यापारी असीम महर्जनका अनुसार टेलिभिजनको बिक्रीमा केही गिरावट आएको छ ।

‘केही समय अगाडिसम्म दैनिक २/३ वटा टेलिभिजनको बिक्री हुन्थ्यो, माग पनि टेलिभिजनको उच्च नै थियो, तर अहिले महिनामा पसलबाट २/३ वटा पनि टेलिभिजनको बिक्री गर्न मुस्किल हुन्छ,’ उनले भने । सबैको हात हातमा स्मार्ट फोन हुँदा टेलिभिजन माग कम भएको महर्जनको ठम्याई छ ।

नेपालका शहरी क्षेत्रहरूमा अधिकांश घरमा अहिले पनि टेलिभिजन सेट रहेको देखिन्छ, तर प्रयोगको हिसाबले त्यो झनै न्यून हुँदै गएको छ । प्रविधिमा आएको तीव्र परिवर्तन, मोबाइल फोनको सर्वसुलभता र इन्टरनेटको व्यापक पहुँचले परम्परागत टेलिभिजनको लोकप्रियता खस्कँदै गएको हो ।

चालु आर्थिक २०८१/८२ को चैत्रसम्ममा विभिन्न देशबाट ६६ हजार ९६९ वटा विभिन्न देशबाट टेलिभिजनको आयात भएका छन् । भन्सार विभागका अनुसार एक अर्ब ९७ करोड ८९ लाख ७५ हजार रुपैयाँको उक्त टेलिभिजन आएका हुन् ।

सूचना, समाचार र मनोरञ्जनको प्रमुख माध्यम मानिने टेलिभिजन अहिलेको पुस्ताले धेरथोर प्रयोग गर्छन् । यद्यपि युवापुस्ता युट्युब, टिकटक, फेसबुक जस्ता डिजिटल माध्यमहरूतर्फ आकर्षित देखिन्छन् । मोबाइल र ल्यापटपजस्ता उपकरणबाट आफूले चाहेको सामग्री जुनसुकै समयमा हेर्न सकिने सुविधाले टेलिभिजनको मागमा गिरावट ल्याएको विज्ञहरूले बताउँछन् ।

राख्ने तर नहेर्ने

कुनै बेला घरमा टेलिभिजन हुने परिवारलाई निकै खानदानी परिवारको रूपमा हेरिन्थ्यो । तर, अहिले घरमा टेलिभिजन हुनु सामान्य भइसकेको छ । सहरदेखि गाउँसम्म टेलिभिजनको पहुँच हुन थालिसकेको अवस्थामा मान्छेले यसलाई खासै महत्व दिन छाडिसकेका छन् ।

त्यही भएर होला अहिले धेरैका घरमा टेलिभिजन हुन्छ, तर वर्षैांसम्म खोलिँदैन । कहिले खोल्छन् र दृश्य देखाऊ भनेर पर्खिएर बसेको अवस्थामा टेलिभिजन छ । घरैमा बस्ने मान्छेले टेलिभिजन हेरेपनि कतिपय युवाले त वर्षैांदेखि टेलिभिजन नहेरेको हुनसक्छ ।

काठमाडाैंकी शर्मिला खत्री पनि धेरै समयदेखि टेलिभिजन नहेरेको बताउँछिन् । ‘हाम्रो घरमा टेलिभिजन छ, तर म प्रायः युट्युब वा मोबाइल एपबाटै सबै हेर्छु, टेलिभिजन हेर्न समय मिलाउनुपर्छ, तर अनलाइनमा जुन बेला मन लाग्यो त्यति बेला हेर्न पाइने भएकाले मोबाइल फोन नै प्रयोग गर्छु,’ उनले भनिन् ।

टेलिभिजनप्रति युवाको मोह घट्नुकाे पछाडि डिजिटल प्रविधिको तीव्र विकास, अन–डिमान्ड सामग्रीको सहज पहुँच र सामाजिक सञ्जालको लत रहेको बताइन्छ । खत्री आफ्ना बा–आमाले मात्र टेलिभिजन हेर्ने बताउँछिन् । युवा पुस्ता अहिले खेल हेर्न वा गीत सुन्न मात्र टेलिभिजन हेर्ने खत्रीको ठम्याई छ ।

सोही कारणले गर्दा पछिल्लोसमय टेलिभिजन च्यानलले पनि माेबाइल एपको माध्यमबाट हेर्न सकिने सुविधाहरू दिइरहेका छन् । ग्रामीण क्षेत्रमा टेलिभिजनको प्रभाव कायम रहेको भए पनि शहरी र शिक्षित युवा पुस्तामा यसको आकर्षण तीव्र रूपमा घटिरहेको देखिन्छ ।

शहर क्षेत्रका अधिकांश घरमा अझै टेलिभिजन सेट भए पनि त्यसको सक्रिय प्रयोग कम हुँदै गएको हो । त्यसैले टेलिभिजन च्यानलहरूले नयाँ पुस्तालाई लक्षित कार्यक्रम निर्माण गर्न, सामाजिक सञ्जालसँगको समन्वय बढाउन र ओटीटी प्लेटफर्ममा प्रतिस्पर्धा गर्न रणनीति बनाउन जरुरी छ ।

Logo