काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको पूर्ण स्वामित्वको सहायक कम्पनी नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
बिहीबार सिटी सेन्टरमा नेपाल लाइफ इन्भेस्टमेन्टको केन्द्रिय कार्यालय समुद्घाटन गर्दै उक्त कम्पनीको शुभारम्भ गरिएको हो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशकमा सुशील देव सुवेदी उपस्थित थिए ।
साथै, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल संघाई, निर्देशक कमलेश कुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुली र नेपाल लाइफ इन्भेस्टमेन्टका अध्यक्ष अमितकुमार केयाल लगायत सञ्चालक टिमको पनि सहभागीता रहेकाे थियो ।
५ अर्ब रुपैयाँ लगानी जुटाई सञ्चालनमा ल्याइएको इन्भेस्टमेन्ट कम्पनीबाट आमनागरिक लगानी सुरक्षित र थप नयाँ योजनाको साथ बढ्ने उद्देश्य राखिएको छ ।
कार्यक्रममा प्राधिकरणका निर्देशक सुवेदीले शुभकामना दिँदै बिमकको लगानी सुरक्षित गर्दै लगानीको दायरालाई फराकिलो बनाउनु पर्ने बताए । ‘कम्पनीको लागि यो एउटा दाइत्व पनि हो, एउटै बक्सामा लगानी गर्दा लगानीको क्षेत्र विस्तार गर्ने क्रममा यस्तो कम्पनी खोल्नु उचित हो, तर नागरिकको लगानी सुरक्षा गर्ने दायित्व कम्पनीले बहन गर्नपर्छ,’ उनले भने ।
यस्तै, निर्देशक कमलेश कुमार अग्रवालले अब्बल इन्स्योरेन्स कम्पनीको रूपमा साबित भएको नेपाल लाइफ इन्स्योरेन्स नयाँ क्षेत्र विस्तारबाट लगानीकर्तासमेतले उच्च प्रतिफल पाउने बारेमा विश्वस्त बनाए ।
‘नेपाल लाइफ २५औं वार्षिक उत्सव मनाइसकेको छ, यो अवस्थासम्म आइपुग्दा लगानकर्ता, बीमक आदि सबै खुसी हुनुहुन्छ भन्ने विश्वास लिएका छौं,’ उनले भने । नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यसैगरी सीईओ पराजुलीले लगानी विविधीकरण नेपाली जीवन बीमा क्षेत्रमा नयाँ लगानीको लागि नेपाल लाइफ प्रस्थानबिन्दु भएको बताएको बताए । उनले लगानी विविधीकरणको लागि खोलेको पनि प्रष्ट पारे । ‘जीवन बीमा कम्पनी मध्ये अब्बल सावित हुँदै गएको नेपाल लाइफ वित्तीय सूचकमा पनि उत्कृष्ट छ, नयाँ कम्पनीले नयाँ अनुभव दिने र लगानी विस्तारमा पनि महत्वपूर्ण भूमिका खेल्ने छ,’ उनले भने ।
बीमा क्षेत्रमा नेपाली परिवेश अनुसारको बीमा योजना लिएर बीमा बजारमा प्रवेश गरेका र बीमितको बचतलाई सही सदुपयोग गर्न इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेको पराजुलीको भनाई छ । साथै, अध्यक्ष संघाईले यो कदम बीमा क्षेत्रको लागि कोशढुङ्गाको रूपमा सावित हुने बताए ।
‘यस इन्भेस्टमेन्ट कम्पनीले लगानी विविधीकरणमा जोड दिँदै रिटर्न आउने सेक्टरमा मात्रै लगानी गर्नेछ । यहाँबाट स्टेकहोल्डर र सेयरधनीहरुलाई प्रतिफल दिने हिसाबले लगानी हुनेछ,’ उनले भने ।































प्रतिक्रिया