काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ अनिश्चित कालका लागि स्थगित भएको छ। भारत र पाकिस्तान बीचको सीमापार तनावलाई ध्यानमा राख्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले यो निर्णय गरेको हो। औपचारिक घोषणा चाँडै हुने अपेक्षा गरिएको छ।
आईपीएलले बिहीबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पहिलो इनिङको बीचमै रोकिएको थियो ।
भारत–पाकिस्ताक युद्धको कारण शीर्ष चारका लागि पाँच टोलीको भिडन्त निर्णायक हुँदै गर्दा हिजो बिहीवारको खेल अवरुद्धपछि अब आइपीएलका बाँकीका खेलहरु अनिश्चित कालका लागि नहुने भएको हो ।
धर्मशालामा चलिरहेको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेलका दौरान जम्मू र पठानकोट नजिकैका शहरमा पाकिस्तानले हवाई आक्रमण गरेको अलर्टका कारण आधामै खेल रद्द गरिएको थियो। उक्त समय पञ्जाबको टोलीले निकै राम्रो प्रदर्शन गरिरहेको थियो । पञ्जाबले उक्त समय १० दशमलब एक ओभरमा १ विकेट मात्र गुमाएर १२२ रन बनाएको थियो । पञ्जाबका लागि प्रभसिमरन सिंह २८ बलमा ५० रनमा थिए र उनका पार्टनर प्रियांश आर्यले ३४ बलमा ७० रन बनाएर बत्ती निभ्नु भन्दा ठिक अगाडि मात्रै आउट भएका थिए ।
प्रियांश आर्य आउट भएलगतै अचानक बिजुली गएको थियो। सुरुमा, सबैले फ्लडलाइटको समस्या मात्रै हो भनि सोचेका थिए। तर त्यसपछि रंगशाला पूर्ण रुपमै अँध्यारो बनाएर सुरक्षाको कारण देखाईदै सहभागी टोली र दर्शकहरूलाई मैदानबाट सुरक्षित बाहिर निकालिएको थियो। उक्त खेलका दौरान करिब २३ हजार दर्शकहरु रंगशालामा उपस्थित थिए।
यसैबीच बीसीसीआईले सरकारसँगको संवादपछि आइपिएलका बाँकीका खेल हाल नहुने आधिकारिक जानकारी दिएको हाे । यसका साथै बीसीसीआईले आईपीएलमा सहभागी विदेश खेलाडी स्वदेश फर्कन चाहेमा सम्पूर्ण ब्यवस्था मिलाइने पनि आश्वासन दिएको छ।
आइपिएलमा हुने ७४ खेलमध्ये विहिबारसम्म ५६ खेलहरू सम्पन्न भइसकेका थिए । अब १४ वटा मात्र लिग चरणका साथै प्लेअफ र फाइनल खेलहरु सञ्चालन हुन मात्र बाँकी छ ।





























प्रतिक्रिया