भारत र पाकिस्तानको युद्धमा नेपालको भूमिका के ?

भारत र पाकिस्तानको युद्धमा नेपालको भूमिका के ?

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । विश्व चारैतिर आतंक र अशान्तिको चपेटामा परिरहेका बेला, तेस्रो विश्वयुद्घको संघारमा पुगिरहेको बेला दक्षिण एसिया दशकौँदेखि छिटफुट घटनाहरुबाहेक लगभग शान्त नै देखिएको थियो । जबकी संसारको दुई ठुला उदाउँदा परस्पर प्रतिद्धन्द्धी शक्ति राष्ट्रहरु भारत र चीन यही छन् ।

अफगानिस्तानमा तालिबानको कब्जा, श्रीलंकामा राजापाक्षे सरकार अपदस्थ, बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको बहिर्गमन ईत्यादी लगायतका आन्तरिक राजनैतिक उथलपुथलका बिच पनि क्षेत्रीय स्थायित्वमा असर परेको थिएन । तर पछिल्लो दिन नेपालका दुई छिमेकी मुलुक भारत र पाकिस्तानबीचको तनावले लामै समयका लागि क्षेत्रीय शान्ति खलबल्याउन सकिने त्रासको स्थिति सृजना भएको देखिन्छ । र ‘ईमिडिएट नेईबर’का नाताले हामी नेपाली उपर पनि त्यसको बाँछिट्टा नपर्ने कुरै हुँदैन ।

भारत पाकिस्तानबीचको अन्तिम कारगिल युद्ध २६ वर्षअघि भएको थियो । फेरि पनि एकपटक यी दुई मुलुक युद्धको संघारमा छन् ।

यसलाई नेपालको परिपेक्ष्यमा कसरी हेर्ने ?

भारत र पाकिस्तानको युद्धमा नेपालले अनेक समस्या झेल्नुपर्ने हुनसक्छ । भारतले लागू गरेको सैनिक भर्नाको नयाँ स्किम “अग्निपथ” पछि अवरुद्ध भएको भारतिय गोर्खा सैनिक खुल्न सकेको छैन । तर पनि हाल १५००० बढि नेपाली गोरखा सैनिक भारतिय सेनामा कार्यरत रहेको डाटा छ । यस युद्धमा ति सैनिक अग्रमोर्चामा खट्नु पर्ने नै हुन्छ । यसरी मानव श्रोतको क्षति हुनसक्ने कुरा यस युद्धले नेपाललाई पार्न सक्ने प्रत्यक्ष शुरुवाती प्रभाव हो ।

भारत पाकिस्तानमा अध्ययनरत हजारौँ विद्यार्थी यतिवेला आक्रान्त अवस्थामा छन् । तिनका घरपरिवारमा चिन्ताको माहौल छ । यसबाट प्रभावित हुने ति विद्यार्थीसंगै हजारौँ कामदार घर फिर्ती अर्को चुनौती हो। भारत र पाकिस्तानमा नेपालीहरु लाखाैंकाे संख्यामा राेजगारीकाे खाेजीमा भित्रिएका छन् । याे युद्धले उनीहरुले रोजगारी गुमाउन सक्ने अवस्था आउन सक्छ । याे पनि नेपाललाई पर्ने प्रमुख असर मध्ये एउटा हो ।

अर्को, हाम्रो भारतसँगको खुल्ला सिमानाको चुनौती छँदैछ । यस्तो अवस्थामा अपराधिक क्रियाकलाप गरी सिमा वारपार गर्न सजिलो हुन्छ । र युद्धका बेला त्यस्ता तत्वहरु अझ सक्रिय हुन सक्ने खतरा हुन्छ । अथवा युद्धरत शक्तिहरु पनि नेपाल भारतबीच रहेको खुला सिमानाको अनधिकृत लाभ लिने खालका रणनीति अपनाउन सक्ने आशंका उत्तिकै रहन्छ । उसै पनि नेपाललाई अपराधिहरुले ट्रान्जिट पोइन्टको रुपमा प्रयोग गर्ने गरेको आरोप भारतिय पक्षले पहिलै देखि लगाउने गरेकै छ । यस्तो अवस्थामा त्यसता जोखिम बढेर जाने हुन सक्छ । जसले देशको आन्तरिक सुरक्षा ब्यवस्थालाई प्रभावित गर्न सक्ने हुन्छ ।

अझ भारत पाकिस्तानबीचको युद्ध कुन बेला भारत र चीनबीचको “प्रोक्सी वार”को रुप लिने हाे भन्न सकिन्न । यदि त्यस्तो भयो भने हामी साँचिक्कै “दुई ढुङ्गा बिचको तरुल” भइदिन बेर छैन । बल्लतल्ल सन्तुलित कुटनीतिक अभ्यासमा लागेको नेपालको लागि यो ठुलाे झड्का हुनेछ । त्यसले झन् राजनीतिक, आर्थिक र कुटनीतिक तबरले मारमा फसाउनेछ । भारत र चीन दुवैले नेपाललाई आफ्नो पक्षमा पार्न खोज्ने र जसले छिमेकीहरुसँगको अन्तरद्वन्द्वको स्थिती पैदा गर्न सक्ने हुन्छ । जसको गम्भिर परिणमहरु उल्लेख गरिराख्नु नपर्ला शायद ।

अर्कोतिर हाम्रो आयातको ८० प्रतिशत बढि भारतको बाटो भएर आउने गरेको छ । युद्घका बेला आयात निर्यात बाधित नहुने कुरो भएन। सिमानाका नै बन्द हुन सक्ने पनि सम्भव छ । त्यसले ग्राहस्थ मागलाई प्रभावित गरी आर्थिक संकट निम्त्याउने गम्भीर जोखिम छ । बजारले धान्न नसक्ने गरी वस्तुको अभाव, उच्च बजार मुल्य , कालाबजारी जस्ता प्रवृत्तिहरु मौलाउने जोखिम छँदैछ । यसले जनस्तरमा पार्ने असर, अस्थिरता लगायतका प्रभाव भयावह हुन सक्दछ ।

यी तमाम कुराहरुलाई केलाएर हेर्दा नेपालले पनि यो युद्ध परोक्ष रुपमा लड्नुपर्ने बुझ्न सकिन्छ ।

तसर्थ सकभर यो युद्ध यथाशक्य टाल्नतिर नेपालको प्रयास र कामना हुनु स्वभाविक हुन्छ । यस अवस्थामा हामी शान्तिप्रिय देश, असंलग्न परराष्ट्रनीतिको शुरुवाती पक्षधर र सार्कको वर्तमान अध्यक्षको भूमिकाले पनि क्षेत्रिय शान्तिका लागि प्रयास गर्नुपर्छ । आतङ्कवादको विपक्षमा उभिरहँदा सम्भावित सैन्य टकराव र त्यसले निम्त्याउन सक्ने क्षेत्रिय अशान्ति पनि गम्भिर विषय हो । आर्थिक तथा मानविय क्षति जोगाउन तिर पनि नेपालको वैदेशिक रणनीति केन्द्रित हुन सक्नुपर्दछ । नेपालको प्रभावकारी पहलकदमी हुनुपर्दछ । किनकी नेपाल दुवै देशको छिमेकी पनि हो ।

राष्ट्रसंघको शान्ति मिशनमा शान्ति सेना पठाउने पहिलो देश हो, नेपाल । दुनियाँभरको द्वन्द्व व्यवस्थापनमा अहम् सक्रियता छ । सोहीअनुरुप भारत पाकिस्तानबीचको द्वन्द्व व्यवस्थापनमा पनि शान्तिको झण्डा नेपालले फहराउने प्रयास सार्थक हुन सक्छ । कामना गरौँ युद्ध नहोस्, यसले कसैको पनि भलो गर्ने छैन ।

Logo