युद्धविरामपछि आइपिएल पुनः सुरु हुन सक्ने, वार्तामा जुटे पदाधिकारी

युद्धविरामपछि आइपिएल पुनः सुरु हुन सक्ने, वार्तामा जुटे पदाधिकारी

केन्द्रबिन्दु
48
Shares

काठमाण्डौ । भारत र पाकिस्तानले आफ्नो घातक सीमा विवादमा युद्धविराम गर्न सहमति गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डका अधिकारीहरू आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) पुनः सुरु गर्नेबारे छलफलमा जुटेका छन् ।

आणविक–शस्त्रयुक्त छिमेकी भारत र पाकिस्तानले शनिबार शत्रुताको अन्त्य गर्न आह्वान गरे र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बिसिसिआई सचिव देवजित सैकियाले विकसित परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको’ सञ्चारमाध्यमलाइ बताएका छन् ।

सैकियाले भनेका छन्, “आइपिएलका सबै सरोकारवाला र सम्बन्धित सरकारी अधिकारीहरूसँग परामर्श गरेपछि आइपिएल पुनः सुरु गर्ने बारे निर्णय लिइनेछ ।”

बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले भारतीय मिडियालाई भविष्यको कार्ययोजना निर्धारण गर्न आइतबार बैठक बस्ने बताएका थिए । उत्तरी सहर जम्मूबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा रहेको धर्मशालामा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटलबीचको खेल रद्द भएको एक दिनपछि शुक्रबार इन्डियन प्रिमियर लिग (आइपिएल) एक हप्ताका लागि स्थगित गरिएको थियो ।

हवाई क्षेत्र बन्द भएकाले शुक्रबार खेलाडीहरूलाई दिल्ली फर्काउन विशेष रेलको व्यवस्था गरिएको थियो भने विदेशी खेलाडीहरू शनिबारदेखि घर फर्कन थालेका थिए । आइतबार टोलीहरूले आफ्ना विदेशी खेलाडीहरू र प्रशिक्षण स्टाफलाई फर्काउनेबारे सम्पर्क गरिरहेको रिपोर्ट गरिएको छ र इएसपिएनक्रिकइन्फो वेबसाइटले सरकारबाट अनुमति मिल्ने भए आइपिएल मे १५ को आसपासमा पुनः सुरु हुनसक्ने जनाएको छ ।

Logo