सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर

सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेस सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार मुद्दा दायर हो । २० जनाको जाहेरीको पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो । उनको पालामा सहकारीको रकम अपचलन भएको थियो ।

सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा सांसद राईलाई काठमाडौँ जिल्ला अदालतबाट गत कात्तिकमै पक्राउ पुर्जी जारी गरिएको थियो । तर, सत्ताको संरक्षणमा उनी रहेको आरोप लाग्दै आएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो । हाल उनी हिरासतमै छिन् । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।

जनजाति कोटाबाट समानुपातिक सांसद बनेकी राईले स्वर्णलक्ष्मी सहकारीमा दुई कार्यकाल सञ्चालकको भूमिका निर्वाह गरेकी थिइन् । त्यही समयमा अर्बौं रकम घोटला गरेको आरोप उनीमाथि छ । सुरुमा, स्वर्णलक्ष्मीका छ सय नब्बे बचतकर्ताले १ अर्ब १९ करोड ४९ लाख एक्काइस हजार २ सय ७० रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएका थिए । तर, अनुसन्धानका क्रममा भने स्वर्णलक्ष्मीका कुल ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ संगठित रूपमा ठगी भएको निष्कर्षसहित अभियोजन गरिएको थियो ।

यो प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिमाथि पनि मुद्दा दायर भएको थियो । हाल उनीहरु धरौटीमा रिहा भइसकेका छन् ।

Logo