काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘फोटो नेपाल’ अभियानअन्तर्गत बारपाक फोटो प्रदर्शनीको आयोजना गरेको छ ।
प्रदर्शनीमार्गस्थीत पर्यटन बोर्डमा आयोजना गरिएको फोटो प्रदर्शनीमा फोटो पत्रकार प्रकाश चन्द्र तिमल्सेनाले खिचेका ६० वटा फोटो राखिएको छ । २०७२ सालमा गएको भुकम्पका कारण बारपाकको भग्नावशेष अवस्था र पुनर्निर्माण हुँदासम्म अर्थात् १० वर्ष सम्मको अवधिका भएका परिवर्तनलाई म्यामरामा कैद गरिएको फोटोलाई प्रदर्शनीमा राखिएको हो । गोरखाको बारपाकको केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ७२ जना स्थानियको मृत्यु भएको थियो ।
भूकम्प गएपछि बारपाकको भयावह अवस्था, त्यहाँको सर्वसाधारणहरुको दैनिकी जनजीवन र पुनर्निर्माण भएपछि फेरिएको बारपाकको मुहारुलाई फोटो पत्रकार प्रकाश चन्द्र तिमल्सेनाले कैद गरेको फोटोलाई प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनी अवलोकन गर्न आएका नेसपाका पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यस प्रदर्शनीले बारपाकको इतिहासलाई जिउँदो राखेको बताए । उनले भने, ‘बारपाकलाई भुकम्पले तहस नहस बनाए पछि त्यहाँका पुराना संरचनालाई नबिगारिकन पुननिर्माण गर्ने सोच रहे पनि राजनीतिक उतारचढावका कारण चाहेको जस्ता काम गर्न सकिएन ।’

फोटो पत्रकार प्रकाश चन्द्र तिमल्सेना भन्छन्, ‘भूकम्प गएको बेलामा मात्र मानिसहरु सचेत हुने विस्तारै प्राकृतिक प्रकोपले पुर्याएको क्षेतिको बारेमा बिर्सने हुन्छ । बारपाकमा भूकम्पले कति क्षति पुर्यायो त्यो सबैलाई थाहा छ तर त्यहाँको वास्तविक अवस्था धरैले देख्न पाएको छैन । यो फोटोहरुले त्यहाँको वास्तविक अवस्था देखाउने र प्राकृतिक प्रकोप जहिले पनि आउन सक्छ । त्यसको लागि सधैं सजग र सचेत रहनका लागि चेतना पनि दिन्छ ।’

फोटो दृष्य मात्र होइन भावना पनि जोडिएको हुन्छ । गोरखाको बारपाक पर्यटकीय क्षेत्र पनि हो । प्रदर्शनीमा राखिएका फोटोहरुले बारपाकको इतिहासलाई झल्काउने मात्र नभई पर्यटकीय स्थलको प्रवद्र्धन पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुजन सुवेदीले बताए ।

फोटो प्रदर्शनीमा राखिएका फोटोमा भूकम्प गएलगत्तै अस्थायी टहरा बनाउँदै ७१ वर्षिय अन्दलाल गुरुङ, भुकम्पको तीन महिनापछि बारपाकको सुइनान चौताराबाट खिचिएको फोटो, अस्थायी टहराबाट चिहाउँदै बालक, घर भत्किएपछि चिन्तित मुद्रामा आइतमाया गुरुङ र बालबालिका, डोकोमा भारी बोकेकी बालिका, गोठालो लागेका कान्छा गुरुङ, भत्किएको घरबाट निकालिएको विद्युतीय सामग्री हेर्दै मञ्जु गुरुङ, भग्नावशेष घरबाट सामान बोकेर टहरा तर्फ जाँदै श्रीमाया गुरुङ जस्ता सम्पूर्ण फोटोहरु उत्तिकै मन छुने रहेका छन् ।

प्रदर्शनीले बारपाकको पुनर्निर्माण र पुनर्जीवनको यात्रालाई तस्वीरका माध्यमबाट चित्रण गर्रिको बोर्डले जनाएको छ ।
जेठ १ गते देखि सञ्चालन भएको फोटो प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ । शुत्रबारसम्म सयौंको सङ्ख्यामा अवलोकनकर्ताहरुले फोटो प्रदर्शनीको अवलोकन गरिसकेका छन् ।






























प्रतिक्रिया