रुस र युक्रेनबीच पहिलो प्रत्यक्ष शान्ति वार्ताः एक हजार कैदी आदानप्रदान गर्ने सहमति

रुस र युक्रेनबीच पहिलो प्रत्यक्ष शान्ति वार्ताः एक हजार कैदी आदानप्रदान गर्ने सहमति

केन्द्रबिन्दु
60
Shares

काठमाडाैं । सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण मात्रामा आक्रमण गरेपछि पहिलो पटक भएको प्रत्यक्ष शान्ति वार्ता दुई घण्टाभन्दा कम समयमा नै टुङ्गिएको छ । दुवै पक्ष ठूलो संख्यामा युद्धबन्दी आदानप्रदान गर्न सहमत भए पनि युद्ध अन्त्यका लागि महत्वपूर्ण शर्तहरूमा भने उनीहरू स्पष्ट रूपमा टाढा रहेकाे बताइएकाे छ ।

युक्रेन र उसका पश्चिमी सहयोगीहरूले शान्तिपूर्ण समाधानको पहिलो कदमको रूपमा अस्थायी युद्धविरामलाई जोड दिएका छन्। तर क्रेमलिनले यस्तो युद्धविरामको विरोध गर्दै आएको छ, जुन अझैसम्म हुन सकेको छैन।

वार्तापछि युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता हेओर्ही तिखीले भने, “हामीले यस आधारभूत विषयमा रुसबाट ‘हुन्छ’ भन्ने जवाफ पाएका छैनौं।”

रुसी राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले भने आफू “परिणामबाट सन्तुष्ट” रहेको बताएका छन् र मस्को सम्पर्क जारी राख्न तयार रहेको जानकारी दिए।

इस्तानबुलमा कीभ र मस्को दुवैले १,००० युद्धबन्दीहरू आदानप्रदान गर्न सहमति जनाएका छन्। दुवै प्रतिनिधिमण्डलका प्रमुखका अनुसार यो अहिलेसम्मकै ठूलो कैदी आदानप्रदान हुनेछ।

मुख्य युक्रेनी प्रतिनिधि, रक्षामन्त्री रुस्तम उमेरोभका अनुसार दुवै पक्षले युद्धविराम र आफ्ना राष्ट्र प्रमुखहरूबीचको भेटवार्ताका बारेमा पनि छलफल गरेका थिए।

Logo