काठमाडाैं । भारत र पाकिस्तानबीचको तनावका कारण रोकिएको आईपीएल २०२५ को पुनरागमन वर्षाले बिथोलेको छ । लगातारको वर्षाका कारण रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्सबीचको खेल टस नभइ नै नखेली रद्द भएको हाे ।
यो खेल रद्द भएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन् । यस नतिजासँगै कोलकाता नाइट राइडर्सको डिफेन्डिङ च्याम्पियनको हैसियतमा प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ।
कोलकाताको १३ खेलमा १२ अंक मात्र छ र अब उसको अधिकतम अंक १४ मात्र हुन सक्छ । तीन टोलीले यसअघि नै १४ अंक पार गरिसकेका छन् भने १४ र १३ अंक भएका टोलीबीच एक खेल बाँकी छ।
यता, यो एक अंकले रोयल च्यालेन्जर्स बैंगलोरलाई प्लेअफमा पुग्न सहज भएको छ। १२ खेलमा १७ अंकसहित बैंगलोर शीर्ष दुईमा रहने लक्ष्यमा छ । उसका निकटतम प्रतिद्वन्द्वी गुजरात टाइटन्स ११ खेलमा १६ अंक र पञ्जाब किंग्स ११ खेलमा १५ अंकसहित रहेका छन्।
शीर्ष दुईमा रहने टोलीले आईपीएलको फाइनलमा पुग्न दुई मौका पाउनेछन्। सामान्य सेमिफाइनल ढाँचाभन्दा फरक, शीर्ष दुईमा रहने टोली प्लेअफमा पहिलो हारसँगै बाहिर हुँदैनन्। उनीहरूले तेस्रो र चौथो स्थानमा रहने टोलीबीचको प्लेअफ खेलको विजेतासँग भर्चुअल सेमिफाइनल खेल्ने अवसर पाउँछन्।
हालसम्म एक पटक मात्र शीर्ष दुई बाहिरको टोलीले आईपीएलको उपाधि जितेको छ ।
विराट कोहलीका प्रशंसकका लागि यो निराशाजनक रात रह्यो। कोहलीले यस ब्रेकमा टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेपछि उनका प्रशंसक सेतो जर्सीमा उनलाई सम्मान गर्न मैदानमा आएका थिए। बैंगलोरमा वर्षायाम सुरु भइसकेकाले आरसीबीले अब शुक्रबार सनराइजर्स हैदराबादविरुद्ध हुने आफ्नो अन्तिम घरेलु खेलमा मौसमले साथ दिने आशा राखेको छ । सनराइजर्स हैदराबाद भने यसअघि नै प्रतियोगिताबाट बाहिर भइसकेको टोली हो ।





























प्रतिक्रिया