काठमाडौं । नेपालले आईसीसी महिला टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा जित दर्ता गरेको छ । आज भएको खेलमा नेपालले यूएईलाई ५ विकेट पराजित गरेको हो । यो जितसँगै नेपाल पहिलाेपटक विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएकाे छ ।
टेर्डथाई क्रिकेट मैदानमा यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन प्रहार गरिन् । उनी २८ बलमा २ चौका प्रहार गर्दै अविजित रहिन् ।
त्यसअघि टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन जोडेको थियो । यूएईका लागि ओपनर इशा ओझाले ३९ बलमा २ चौका र एक छक्काको मदतमा सर्वाधिक ३९ रन नै जोडिन् ।
साथै अर्की ओपनर तीर्थ सतीशले ३२ बलमा २१ रन जोडिन् ।
बलिङमा नेपालकी मनिषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन् ।
आयोजक थाइल्यान्ड सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ । प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन् ।
प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ ।
सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने महिला टिमले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । अहिलेसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने बंगलादेश, स्कटल्यान्ड र अमेरिका गरेर तीन टिमको मात्र टुंगो लागेको छ ।





























प्रतिक्रिया