काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल आयोजक थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ ।
टेर्डथाइ क्रिकेट मैदानमा थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रनमै समेटिएको हो । नेपालका लागि कवितार कुँवरले सर्वाधिक २४ रन योगदान दिइन् । त्यस्तै रजाजमति ऐरीले अविजित २० तथा रूविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले सर्वाधिक चार विकेट लिइन् । यसैगरी थिपाचा पुथावोङले तीन र सुलेपोर्न लाओमीले समान एक एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रन बनाएको थियो । थाइल्यान्डका लागि नन्नापत कोन्चारोएनकाई २८ बलमा आठ चौकाको मद्दतले अविजित ५० रनको योगदान गरिन् । त्यसैगरी नटाया बुचथमले ४२ बलमा पाँच चौकासहित ५० रन बनाइन् । अपिसरा सुवान्चोराथीले २९ तथा नथ्थकन चन्थमले अविजित १५ बनाइन् ।
नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एक विकेट लिए ।
नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका थिए । पहिलो खेलमा दुवैले युएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुगेका हुन् ।





























प्रतिक्रिया