जनसंख्या बढाउन कर्मचारीहरूलाई एक हप्ता डेटिङ बिदा दिने रुस सरकारको योजना

जनसंख्या बढाउन कर्मचारीहरूलाई एक हप्ता डेटिङ बिदा दिने रुस सरकारको योजना

केन्द्रबिन्दु
75
Shares

मस्को । घट्दो जन्मदरलाई लिएर रुस सरकार चिन्तित बनेको छ । जन्मदर बढाउनकै लागि विभिन्न विवादास्पद प्रस्तावहरू अगाडि सारिएका छन्।

हालै मात्र क्रेमलिन समर्थक सांसद गेओर्गी अरापोभले कर्मचारीहरूलाई सशुल्क एक हप्ता डेटिङका लागि बिदा दिने प्रस्ताव गरेका छन्। २५ वर्षीय अरापोभले वार्षिक ‘जनसांख्यिकीय’ हप्ताको प्रस्ताव गरेका छन् जसले दम्पतीहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्नेछ।

अरापोभले यस बिदालाई “धेरै नागरिकका लागि तनावबाट मुक्त भई, आराम गरेर बच्चा जन्माउने निर्णयका लागि राम्राे अवसर” को रूपमा व्याख्या गरेका छन्। उनका अनुसार, अविवाहित व्यक्तिहरूले पनि यस हप्तालाई मानिसहरूसँग भेट्न र सम्बन्ध बनाउन प्रयोग गर्न सक्छन्।

यो प्रस्ताव यस्तो समयमा आएको छ जब गत महिनाको तथ्याङ्कले रुसको जन्मदर २०० वर्षकै सबैभन्दा तल्लो स्तरमा पुगेको देखाएको छ। गर्भपतनमा लगाइएका प्रतिबन्धसहित राज्यले रुसीहरूलाई थप सन्तान जन्माउन प्रोत्साहन गर्ने प्रयासका बाबजुद पनि जन्मदरमा गिरावट आइरहेको छ।

यसै विषयमा श्रममन्त्री एन्टन कोट्याकोभले यस प्रस्तावको सम्भाव्यता अध्ययन गर्नुपर्ने बताएका छन्। अर्का क्रेमलिन समर्थक तथा प्रचारक आर्चप्रिस्ट आन्द्रेई तकाचेभले भने बच्चा जन्माउन असफल हुने पुरुषहरूमाथि कर लगाउनुपर्ने माग गरेका छन्।

अर्थोडक्स पादरी तकाचेभले भनेका छन्, “निःसन्तानता कर ठूलो हुनु हुँदैन, तर यो प्रतीकात्मक हुनुपर्छ ताकि ‘४० वर्ष पुग्दा पनि किन एउटा पनि बच्चा जन्माएनौँ?’ भनेर तपाईलाई कलङ्कित महसुस होस्।”

रुसको जनसांख्यिकीय संकटले यस प्रकारका अनौठा र विवादास्पद उपायहरूलाई जन्माएको छ, जसले देशको सामाजिक संरचना र व्यक्तिगत स्वतन्त्रतामाथि बहस छेडिरहेको छ।

Logo