काठमाडौँ
भूकम्पमा भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ । भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंक मार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो ।
भूकम्प लगत्तै सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ (दाता सम्मेलन) मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १ खर्ब रुपैयाँ सहयोग घोषणा गरेकी थिइन् । उनले पाँच वर्ष भित्र सबै रकम उपलब्ध गराइसक्ने प्रतिबद्धता समेत जनाएकी थिइन् । त्यो मध्ये अहिलेसम्म भारतले २ प्रतिशत रकम मात्रै दिएको छ । उसले अर्थ मन्त्रालय मार्फत २०७५ साउन ११ मा २ अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । सम्मेलनका बेला विदेशमन्त्री स्वराजले घोषणा गरेको बाहेक भारतले दिने नियमित सहयोग पनि कायम रहने बताएकी थिइन् । तर सहयोग घोषणामै सीमित बनेको छ ।
एक्जिम बैंक मार्फत दिने भनिएको ७५ अर्ब रकम नआउने भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) सुशील ज्ञवालीले पुष्टि गरे । ‘एक्जिम बैंकको ७५ अर्ब नआउने भयो, भारतले दिने अनुदानको रकम पनि ढिलो गरी आउँदै छ’, उनले भने ।
फेरि दाता सम्मेलन
दाताले घोषणा गरेको ४० प्रतिशत रकम पनि नआएको अवस्थामा सरकार फेरि दाता सम्मेलन गर्न तम्सिएको छ । सम्मेलन मार्फत दाताले गरेको घोषणा र सम्झौताको समीक्षा गर्दै थप सहयोगका लागि आग्रह गरिने सरकार सम्बद्ध अधिकारीको भनाइ छ ।
भूकम्पको दुई महिनापछि २०७२ असारमा ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ (दाता सम्मेलन) भयो । भारत, चीन देखि विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतले सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँ सहयोग घोषणा गरे । तर दातासँग अहिलेसम्म २ खर्ब ६२ अर्ब रुपैयाँको मात्र सम्झौता भएको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया