यी प्रमुख अटोमोबाइल कम्पनीहरु नाइमा मोबिलिटी एक्स्पोमा सहभागी नहुने

यी प्रमुख अटोमोबाइल कम्पनीहरु नाइमा मोबिलिटी एक्स्पोमा सहभागी नहुने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा केही ठूला अटोमोबाइल कम्पनीहरु सहभागी नहुने भएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)सँग असन्तुष्ट व्यवसायीहरु मिलेर नाइमा गठन गरेपछि आयाेजना गर्न लागेकाे याे एक्सपोमा सिप्रदी ट्रेडिङ र एमएडब्लु ग्रुप लगायत केही अन्य प्रमुख कम्पनीहरु नदेखिने भएका हुन् ।

नाइमा मोबिलिटी एक्सपोमा अधिकांश अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरुको सहभागिता रहने भए पनि, सिप्रदी ट्रेडिङ र एमएडब्लु ग्रुपको अनुपस्थितिले एक्स्पोको भव्यतामा केही असर पर्ने देखिएको छ । यसका साथै, अटोमोबाइल बजारमा तीव्र गतिमा विस्तार भइरहेको सिजी मोटर्स र सुजुकी गाडीको बिक्री गर्ने सिजी मोटोकर्प पनि नाइमा मोबिलिटी एक्स्पोमा सहभागी नहुने भएका छन् ।

यी कम्पनीहरु नाइमा मोबिलिटी एक्स्पोमा सहभागी नहुनुको मुख्य कारण नाइमा एक्सपो सम्पन्न भए लगत्तै भदौ ३ देखि ८ गतेसम्म आयोजना हुने नाडा अटो शो मानिएको छ । नाइमा मोबिलिटी एक्स्पोमा अनुपस्थित रहने कम्पनीहरुले नाडा अटो शोमा भने आफ्नो स्टल बुक गरिसकेका छन् । यसले व्यवसायीहरु नाडा र नाइमा बीच विभाजित भएको देखाउँछ ।

नाइमा मोबिलिटी एक्सपोमा सिप्रदी ट्रेडिङले बिक्री गर्ने टाटा ब्रान्डका कारहरु अवलोकन गर्न पाइने छैन । त्यस्तै, एमएडब्लु ग्रुपले आयात गर्ने जीप, दिपाल, सेरेस, नामी, स्कोडा, फोटोन र सोकोन लगायतका आधा दर्जन ब्रान्डका गाडीहरु पनि यस मेलामा सहभागी हुने छैनन् । एमएडब्लु ग्रुपले बिक्री गर्ने यामाहा मोटरसाइकल पनि नाइमा एक्सपोमा अनुपस्थित रहनेछ ।

सिजी मोटर्सले आयात गरी बिक्री गर्दै आएको एवोन, एक्सपेङ, अवतार, नेटा, स्मार्ट, केवाईसी र किङलङ ब्रान्डका ईभी (इलेक्ट्रिक भेहिकल) र हिरो ब्रान्डको मोटरसाइकल पनि यस मेलामा देख्न पाइने छैन । यसका अतिरिक्त, भेष्पा/अप्रिलिया र यात्री मोटरसाइकल सहित केही अन्य इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनहरु पनि सहभागी नहुने भएका छन् ।

अटोमोबाइलका साथै, स्पेयर पार्ट्स, टायर ट्युब, लुब्रिकेन्ट्स र ब्याट्री तथा एसेसोरिज बिक्री गर्ने कम्पनीहरु समेत नाइमा मोबिलिटी एक्सपोमा सहभागी नहुने बताइएको छ । यसले गर्दा एक्सपोमा समग्र अटोमोबाइल उद्योगको पूर्ण प्रतिनिधित्व नहुने सम्भावना बढेको छ ।

Skip This
Skip This
Logo