महेन्द्रनगर
नेपालका विभिन्न ठाउँमा बिकराल बन्दै गएको ‘स्क्रब टाइफस’ रोगको संक्रमण सुदुरपश्चिममा पनि देखा पर्न थालेको छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली सहित अन्य पहाडी जिल्लामा यसको संक्रमण बढ्दै गएको हो । सुदूरपश्चिममा पछिल्लो १५ दिनको अवधिमा ३३ जनामा यो रोगको संक्रमण देखा परेको छ ।
उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ७६ जना बिरामीलाई जाँच गर्दा ३३ जनामा रोगको संक्रमण देखिएको अस्पतालका निमित्त मेसु डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए । जसमा डडेल्धुराका २१ जना, बैतडीका ११ जना र बझाङका एक जना रहेका छन् ।
धनगढीको सेती अञ्चल अस्पतालमा पनि यो वर्ष ५० जनामा ‘स्क्रब टाइफस’को संक्रमण पाइएको थियो । जसमध्ये डडेल्धुराकी २२ वर्षीया सरस्वती भट्टको भने मृत्यु भईसकेको छ ।
यहाँका बिभिन्न जिल्लाहरुमा रोगको संक्रमण बढ्दै गएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘स्क्रब टाइफस’ ले सुदूरपश्चिममा पनि बिकराल रुप लिँदै गएपछि महामारीको खतरा बढेको छ । सचेत रहन सबैलाई चिकित्सकहरुले आग्रह गरेका छन् ।
स्क्रब टाइफस रोग ओरेन्सिया सुसुगमुसी नामक परजीवीको संक्रमणले लाग्ने गर्दछ । यो परजीवीलाई एक प्रकारको माइट जातिको सुक्ष्म किराले सार्ने गर्दछ । रोगको किटाणु बोक्ने माइट स–साना बोटबिरुवाको झाडीमा बस्छ ।
पहिलो पटक सन् १९३० तिर जापानमा देखा परेको यो रोग हाल भने नेपालका बिभिन्न स्थानमा पनि देखा परेको छ । तर नेपालमा भने मुसाले यो रोग सारेको पाइएको छ । झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जांँदा ‘माइट’ ले मानिसलाई टोेके पछि यो रोग भएको पाइएको छ ।
ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन । रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटु लगायत अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुन सक्छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया