मुगुको विकट गाउँ पुलुमा ‘हेलिप्याड’ निर्माण

मुगुको विकट गाउँ पुलुमा ‘हेलिप्याड’ निर्माण

केन्द्रबिन्दु
12
Shares

मुगु । विकट क्षेत्र मानिने मुगूम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुलुमा सेनाले हेलिप्याड निर्माण गरेको छ ।

सो हेलिप्याड निर्माण सम्पन्न गरी सेनाले गत शुक्रबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ । उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजङ्ग थापाले गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामालाई हेलिप्याड हस्तान्तरण गरेका हुन् ।

गाउँपालिका अध्यक्ष लामाले सेनाको प्रशंसा गरे । उनले भने, “मुगूमका जनताले विपद्मा उद्धार तथा राहत समयमा पाएका थिएनन्, सुत्केरी र बिरामीले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको थियो । पैसा भएर पनि समयमै सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाउँदा ज्यान गुमाउनुपरेको थियो अब मापदण्ड अनुसारको हेलिप्याड बनेकाले आवश्यक परेको बेला सक्नेले हेलिकप्टर सेवा लिने छन् ।”

कार्मारोङ्गका पाटनमा बहुमुल्य जुडिबुटी यार्सागुम्बा पाइने भएकाले जिल्लाभित्र र बाहिरका हजाराैं यार्सा टिप्न यहाँ आउँछन् । उच्च हिमाली भुभाग, मौसममा फेरवदल भइरहने, अक्सिजनको कमी, अत्यधिक चिसोका कारण बर्सेन दजनौँ यार्सा सङ्कलक बिरामी हुने र समयमा उपचार नपाउँदा मृत्य हुने गरेकाले हेलिप्याड निर्माणले उद्धारमा सहयोग पुग्ने हनुमान ध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारीले बताए ।

हेलिप्याड रु आठ लाख ४४ हजार १७३ रुपैयाँ ६० पैसामा निर्माण गरिएको हो ।

Logo