किएभ, युक्रेन । युक्रेनमा आइतबार राति भएको रुसी आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
युक्रेनको आपतकालीन सेवाले राजधानी किएभसहित युक्रेनी विभिन्न भूभागमा रुसले लगातार दोस्रो रात ठूलो हवाई आक्रमण गरेको छ । युक्रेनले आक्रमणलाई ‘आतङ्कको रात’ भनेको छ ।
सन् २०२२ को फेब्रुअरीमा मस्कोले पूर्ण रूपमा आक्रमण सुरु गरेयता दुवै पक्षले सबैभन्दा ठूलो कैदी आदानप्रदान गरेको र संयुक्त राज्य अमेरिकाले तीन वर्ष पुरानो युद्ध रोक्न युद्धविरामको मध्यस्थता कोसिस गरिरहेको बेला यी आक्रमणहरू भएका हुन् ।
रुसको पछिल्लो आक्रमणमा आठ र १२ वर्षका दुई बालबालिका र उत्तरपश्चिमी क्षेत्र झितोमिरमा १७ वर्षीय एक किशोरको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन्, “रुसी नेतृत्वमाथि कडा दबाब बिना यो क्रूरता रोक्न सकिँदैन ।”
“निश्चित रूपमा प्रतिबन्धले रूसी आक्रमण नियन्त्रण गर्न र रूसलाई युद्धविरामका लागि दबाब दिन मद्दत गर्नेछ,” उनले संयुक्त राज्य अमेरिका, युरोपेली देश र ‘शान्ति चाहने विश्वभरका सबैलाई’ मस्कोलाई युद्ध रोक्न ‘दृढता’ देखाउन आह्वान गरे।
युक्रेनको सेनाले आइतबार बिहान ४५ वटा रुसी क्षेप्यास्त्र र २६६ वटा आक्रमणमा प्रयोग गरिएका ड्रोन खसालेको जनाएको छ ।
यसैबीच, रुसले शनिबार राति र आएतबार बिहान गरी११० वटा युक्रेनी ड्रोन खसालेको जनाएको छ । युक्रेनको पश्चिमी खमेल्निट्स्की क्षेत्रमा चार जना, किएभ क्षेत्रमा चार जना र दक्षिणमा माइकोलाइभमा एक जनाको मृत्यु भएको छ । -एएफपी





























प्रतिक्रिया