धामी लिन भनेर हिँडेका सविन तीन दिनदेखि सुनकोशीमा बेपत्ता, गोताखोर झिकाइँदै

धामी लिन भनेर हिँडेका सविन तीन दिनदेखि सुनकोशीमा बेपत्ता, गोताखोर झिकाइँदै

केन्द्रबिन्दु
9
Shares

खोटाङ । सुनकोशीमा डुबेर तीन दिनअघि बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजिकार्य तीव्र बनाइएको छ । पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता भएका सविनको खोजीमा आफन्त, स्यानीयवासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

डिकुवास्थित ओख्लाङका विन्द्रकेशर राईका छोरा सविनलाई शनिबार बिहान करिब ११ बजे सुनकोशीले बगाएको खबर प्राप्त भएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिए । पौडी खेल्ने क्रममा सविन सुनकोशी बेपत्ता भएको जानकारी पाएलगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीले खोजी गर्नेक्रम जारी राखे पनि हालसम्म फेला पार्न नसकेको वडाध्यक्ष राईले बताए ।

सुनकोशीमा डुबेर सविन बेपत्ता भएको घटनास्थलबाट जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय हलेसी र च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक राज विष्टले जानकारी दिए । बेपत्ता सविनलाई डिकुवाका वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले सुनकोशी वारिपारी खोजी रहेको छ ।

बेपत्ता सविनको खोजी तथा उद्धारका लागि जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । धामी लिन भनेर ओख्लाङबाट स्थानीय १५ वर्षीय सागर राईसँग सविन डिकुवा गएको आफन्तले बताएका छन् ।

सुनकोशी किनारको बाटो हुँदै गएका दुवैजना तुइम्बुस्थित बाँदरेखोप भन्ने ठाउँमा पौडी खेल्न कोशीमा पसेको जानकारी पाइएको वडाध्यक्ष राईले बताए । सुनकोशीमा डुबेर बेपत्ता भएका सविन तीन दिनसम्म पनि फेला नपरेपछि गोताखोर झिकाएर खोजी कार्यलाई तीव्रताका साथ अगाडि बढाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिए ।

“धामी लिन भनेर हिँडेका छोरा तीन दिनसम्म पनि फेला घर नफर्कँदा परिवार भावविह्वल भएको छ । उनीहरू आफ्नो छोरा जीवित नफर्किए पनि लाश देख्न चाहन्छन्”, उनले भने, “जिल्लाबाट खटिएका सुरक्षाकर्मीको टोलीले हालसम्म बेपत्ता सविनलाई फेला पार्न सकेको छैन । गोताखोर टोली झिकाएर खोजी कार्यलाई तीव्रताका साथ अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।”

सुनकोशीमा डुबेर तीन दिनदेखि बेपत्ता बनेका सविनको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर बोलाउने तयारी भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए ।

Logo