काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राजावादीको प्रदर्शनलाई लक्षित गरेर प्रहरीले काठमाडौं उपत्यकामा ३८ सय जनशक्ति परिचालित गरेको छ ।
प्रहरी जनशक्ति नपुग भएपछि मकवानपुरस्थित विशेष सुरक्षा गण रातोमाटेबाट इन्स्पेक्टरको कमान्डमा थप टोली काठमाडौं उपत्यकामा परिचालित छ । त्यसबाहेक उपत्यकामा रहेका १ नम्बर, २ नम्बर, दंगा र पहरा गण, विभिन्न गुल्म, हेडक्वार्टरसहितका टोली सडकमा परिचालित भएका छन् ।
एमालेले सातदशक लामो बलिदानपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रुपमा मनाउन लागेको हो । उक्त पार्टीले बिहान ११ बजेदेखि २ बजेसम्म भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्नेछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आफ्नो मौलिक वेशभूषामा पार्टीका कार्यकर्ता सांस्कृतिक झाकीसहित र्याली भृकुटीमण्डमा पुगेर उत्सवमा सहभागी हुनेछ ।
यता राजावादीहरूले पनि काठमाडौं केन्द्रित गरेर आजबाट नै व्यवस्था उल्टाउने जनविद्रोह गर्ने घोषणा गरिसकेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले रत्नपार्कमा आन्दोलन गर्ने बताएको छ । राजसंस्था पुनर्स्थापना, हिन्दु राज्य पुनर्स्थापना र संघीयता खारेजीलगायत माग राखेर तय भएको यो आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत विभिन्न पार्टी र समूहहरूको समर्थन छ।
राजावादी समर्थक प्रदर्शनकारीलाई दिउँसो २ बजे अगाडि जहाँको त्यहीँ रोकिने र त्यसपछि रत्नपार्कस्थित शान्तिबाटीका प्रवेश गर्न दिइने भएको छ । तर, त्यसक्रममा निषेधित क्षेत्रमा प्रदर्शन गर्न नदिइने भएको छ । निषेधित क्षेत्र घोषणा नगरिए पनि गौशालाबाट सिनामंगल, तीनकुने क्षेत्रमा भिड जम्मा हुन नदिने सुरक्षा नीति छ ।





























प्रतिक्रिया