पाटन (ललितपुर) । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कर्मचारीको क्षमताअनुसार परिचालन गरेमा न्यायपालिकाले उचित लाभ हासिल गर्ने बताएका छन् ।
न्यायपालिका अधिकृत समाजको आज ललितपुरमा आयोजित पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा अधिकृत समाजलाई संस्थागत उन्नयन र सामूहिक एकतामा आधारित रहेर काम गर्ने क्षमता मिलोस् भनी शुभकामना व्यक्त गरेका हुन् । देशभरिका अधिकृतले अपनत्व लिनसक्ने संस्थाको रूपमा अधिकृत समाज विकास हुनुपर्ने उनको भनाइ छ ।
न्यायपालिकामा क्रियाशील अधिकृतमा व्यवस्थापनदेखि प्रशासकसम्म समन्वय गर्नसक्ने भूमिका रहेने बताउँदै राउतले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सबै न्यायालयका कर्मचारीलाई आग्रह गरे । “अधिकृत न्यायपालिकाको आधारस्तम्भ हो, यसको आधारमा सुधार गर्दै जानु जरुरी छ । मर्यादित, प्रतिष्ठित र निष्ठावान् न्यायपालिकाको कर्मचारी हुँदा सबैको शिर उँचो हुन्छ, यसमा ध्यान दिनुहुन मेरो आग्रह छ”, उनले भने ।
मुद्दा फछ्र्यौट, पेसी व्यवस्थापनमा उत्साह र क्रियाशीलता आवश्यक रहेको बताउँदै उनले संसदीय समितिमा दुई वर्षभित्र दुई वर्षभन्दा बढी अवधिका मुद्दा शून्यमा झार्ने प्रतिबद्धता जनाएकाले सो उपलब्धि हासिल गर्न समन्वय र सहयोग गर्न सबैलाई अनुरोध गरे ।
प्रधानन्यायाधीश राउतले अधिकृत समाजले संस्थागत उन्नयन र सामूहिक एकताका आधारित रहेर काम गर्नुपर्नेमा जोड दिँदै न्याय क्षेत्रमा काम गर्ने अधिकृत समग्र न्यायपालिकाको ऐना भएकाले सोहीअनुसार कार्यसम्पादन गर्नुपर्ने धारणा राखे । न्याय क्षेत्र गरिमामय सेवा भएको बताउँदै उनले न्याय सेवाका कर्मचारीप्रति राष्ट्र र समाजले विश्वास गर्ने भएकाले हामी इमान्दार र निष्ठावान् हुनुपर्नेमा जोड दिए ।





























प्रतिक्रिया