काठमाडौं । इक्यान ललितपुरले आयोजना गरेको ‘एजुकेसन युथ समिट’ सम्पन्न भएको छ । युवामार्फत परिवर्तन, विकासका सम्भावनाहरूको उजागर गर्ने उदेश्यका साथ आयोजना गरिएको उक्त समिट ललितपुरस्थित होटल हिमालयमा सम्पन्न भएको हो ।
वर्तमान युग तीव्र रूपान्तरण, नवीनता, प्रविधि र युवाहरूको असिमित सम्भावनाले परिचालित भएकोले यस समिटले परिवर्तन, विकास र सम्भावना स्थापित गर्ने शैक्षिक परामर्श संघका पदाधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सीमा क्षेत्रका नेपालीहरु छिमेकी देशमा गएर शिक्षा लिइरहेको उल्लेख गर्दै विश्वविद्यालयहरुको गुणस्तर सुधार गर्नुपर्ने बताएका छन् । उनले भने,‘विगतमा केही शैक्षिक संस्थाहरू बन्द हुनु, मेडिकल र नर्सिङ कलेजहरू कमजोर बन्नु, विद्यार्थी नपाइनुजस्ता समस्याहरूको मूल कारण नीति निर्माण तहमा भएको कमजोरी भएर हो ।’

त्यसैगरी विगतमा केही शैक्षिक संस्थाहरू बन्द हुनु, मेडिकल र नर्सिङ कलेजहरू कमजोर बन्नु, विद्यार्थी नपाइनुजस्ता समस्याहरूको मूल कारण नीति निर्माण तहमा कमजोरी भएको उजागर गरे ।
शिक्षा क्षेत्रमा भएको समस्याको समाधान गर्नका लागि जिम्मेवार निकायले संवेदनशील र दूरदर्शी रुपमा निर्णय र काम गर्न आवश्यक रहेको पनि अध्यक्ष नेपालले औंल्याए ।
कार्यक्रममा बोल्दै इक्यानका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले आजको युवा पुस्तालाई ग्लोबल्ली रुपमा अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय शिक्षा प्रणालीसँग जोड्ने काममा शैक्षिक परामर्श क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले शैक्षिक परामर्श क्षेत्रलाई शिक्षा ऐनमा स्पष्ट रूपमा समावेश गरी, व्यवसायिक परामर्शदातालाई राज्यका स्टेकहोल्डरको रूपमा मान्यता दिनुपर्ने माग राखे ।
विद्यार्थीहरू विदेश जान चाहन्छन् त्यो गलत नभएको उल्लेख गर्दै प्रक्रियागत पारदर्शिता, सीप विकास र नेपाल फर्किएपछि योगदान गर्ने सोच आवश्यक छ रहेकोमा अध्यक्ष भट्टराईले जोड दिए ।
त्यस्तै, ललितपुर इक्यानका अध्यक्ष अरविन्द कुमार सिंहले, यो समिटमार्फत देश वा विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि सिक्न र नेतृत्व गर्ने अवसर प्रदान गरिएको बताए ।
नेपाल शैक्षिक परामर्श व्यवशायी महासंघका अध्यक्ष राजेन्द्र बरालले शैक्षिक परामर्श संघहरु केवल विदेश पठाउने च्यानल मात्र होइन, स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने एउटा ‘शिक्षा उद्योग’को रूपमा बदलिनुपर्छ भन्नेमा जोड दिए । उनले भने, ‘नेपालबाट विद्यार्थी विदेश पठाउने मात्र होइन, विदेशी विद्यार्थीलाई नेपालमै आकर्षित गर्ने अवसर पहिचान गर्नुपर्छ । नेपाली हावापानी, सांस्कृतिक धरोहर, स्वास्थ्य शिक्षा, कृषि इन्जिनियरिङ, पर्यटन, भाषा र संस्कृति अध्ययनका लागि नेपाल उत्कृष्ट गन्तव्य हो । राज्यले आवश्यक संरचना र नीतिगत मार्गनिर्देशन गरिदिएमा नेपाल अन्तर्राष्ट्रिय शिक्षा केन्द्र बन्न सक्छ ।’
एक दिने एकदिने ‘एजुकेशन युथ समिटमा’ झण्डै दुई हजारको हाराहारीमा विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा देशमै वा विदेशमा अध्ययन गर्न चाहने कक्षा १२ को परीक्षा दिइए बसेका वा व्याचलर अध्ययन सकाएर बसेका विद्यार्थीहरुले कसरी उच्च उच्च शिक्षाका लागि विश्वविद्यालयको छनौट गर्ने विषयमा जानकारी लिएका थिए ।
त्यति मात्र होइन, विद्यार्थीले वैदेशिक अध्ययनको प्रकृया, निःशुल्क छात्रवृत्ति जस्ता विविध विषयमा एजुकेसन कन्सल्टेन्सी र विदेशी विश्वविद्यालयका पदाधिकारीबाट प्रत्यक्ष रुपमा सल्लाह सुझाव लिएका थिए ।
कार्यक्रममा विभिन्न एजुकेसन कन्सल्टेन्सी र अन्तर्राष्ट्रिय विश्वविद्यालयको समेत १० वटा स्टलहरु रहेका थिए । जहाँ विद्यार्थीहरुले विश्वविद्यालय र कन्दसल्टेन्सीको बारेमा प्रभावकारी रुपमा बुझ्ने मौका पाए ।































प्रतिक्रिया