कसरी हुन्छ बालोन डी’ओर विजेताको छनोट ?

कसरी हुन्छ बालोन डी’ओर विजेताको छनोट ?

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । फुटबल जगतको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार, बालोन डी’ओर २०२५ को विजेता सेप्टेम्बर २२, २०२५ मा घोषणा गरिने भएको छ । यो भव्य समारोह पेरिसको थिएटर डु शाटेलेटमा आयोजना हुनेछ ।

फ्रान्स फुटबल म्यागजिनले वार्षिक रूपमा प्रदान गर्ने यो पुरस्कार विश्वको उत्कृष्ट खेलाडीलाई चिनिन्छ ।

बलोन डी’ओरको सुरुवात १९५६ मा भएको हो र यसको छनोट प्रक्रियामा समय-समयमा महत्वपूर्ण परिवर्तनहरू आएका छन्। १९९५ सम्म युरोपेली खेलाडीहरू मात्र यस पुरस्कारका लागि योग्य थिए। त्यसपछि अर्को १२ वर्षसम्म युरोपमा खेल्ने कुनै पनि मूलका खेलाडीहरू योग्य भए। २००७ देखि मात्र विश्वभरका सबै खेलाडीहरूलाई यसमा समावेश गरिएको छ ।

२००७ देखि २०१५ सम्म, फिफा-मान्यता प्राप्त अन्तर्राष्ट्रिय टोलीका कप्तान र प्रबन्धकहरूलाई पनि अन्तिम मतदानमा भाग लिन आमन्त्रित गरिएको थियो। २०१० देखि २०१५ सम्म, फिफाले फ्रान्स फुटबलसँग सहकार्य गर्दै यसलाई फिफा बालोन डी’ओरको रूपमा प्रस्तुत गरेको थियो। अब फिफाले आफ्नै अलग पुरस्कार, फिफा बेस्ट प्लेयर अवार्ड प्रदान गर्छ, तर बालोन डी’ओरलाई अझै पनि बढी प्रतिष्ठित मानिन्छ ।

बालोन डी’ओर कसरी छानिन्छ ?

बालोन डी’ओरको विजेता छनौट एक दोहोरो मतदान प्रणालीमार्फत हुन्छ। सुरुमा, फ्रान्स फुटबल र ले’इकिपका पत्रकारहरूले मिलेर अघिल्लो सिजनको खेलाडीहरूको प्रदर्शनको आधारमा ३० जना खेलाडीहरूको प्रारम्भिक सूची तयार गर्छन्। यसमा कहिलेकाहीँ केही पूर्व खेलाडीहरू पनि संलग्न हुन्छन्।

त्यसपछि, फिफाको शीर्ष १०० वरीयतामा रहेका प्रत्येक राष्ट्रका एक फुटबल पत्रकारलाई यस सूचीबाट आफ्नो शीर्ष १० खेलाडीहरूलाई मत दिन आमन्त्रित गरिन्छ। पहिलो स्थानमा १५ अंक, दोस्रोमा १२, तेस्रोमा १०, चौथोमा ८, पाँचौमा ७, छैटौंमा ५, सातौंमा ४, आठौंमा ३, नवौंमा २, र दशौंमा १ अंक प्रदान गरिन्छ।

सबै पत्रकारहरूले आफ्नो मत पेश गरेपछि, सबै अंकहरू जोडिएर विजेताको घोषणा गरिन्छ । यदि अंक बराबर भएमा, पहिलो स्थानको मतको संख्याका आधारमा विजेता छुट्ट्याइन्छ। यदि अझै बराबरी भएमा, दोस्रो स्थानको मतको संख्या प्रयोग गरिन्छ।

२०२२ देखि, मतदान खेलाडीको एक पूर्ण सिजनको प्रदर्शनमा आधारित हुन्छ, जबकि पहिले यो क्यालेन्डर वर्षको प्रदर्शनमा आधारित थियो।

अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले आठ पटक यो ट्रफी जितेर सबैभन्दा धेरै बालोन डी’ओर उपाधि जित्ने खेलाडीको कीर्तिमान बनाएका छन्। पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो पाँच उपाधिसहित दोस्रो स्थानमा छन्, जबकी जोहान क्रुइफ, मिशेल प्लाटिनी र मार्को भान बास्टेनले तीन-तीन पटक जितेका छन्।

यस वर्षको अवार्डको लागि मुख्य दाबेदारहरूमा हालै च्याम्पियन्स लिगसहित ट्रेबल ट्रफी जितेकाे पेरिस सेन्ट-जर्मेनका औस्मान डेम्बेले, गियानलुइगी डोनारुमा, डिजिएर डुए, र ख्विचा क्वारात्सखेलिया रहेका छन्। यसैगरी, रियल म्याड्रिडका केलियन एमबाप्पे, इन्टर मिलानका लाउटारो मार्टिनेज, बार्सिलोनाका पेड्री, राफिन्हा र लामिन यामल, र लिभरपुलका मोहम्मद सलाह पनि सशक्त दावेदारका रूपमा हेरिएका छन्।

Logo