उद्देश्य ठूलो भए सफलता आफैँ मिल्छ -इक्यान उपाध्यक्ष पौडेल

उद्देश्य ठूलो भए सफलता आफैँ मिल्छ -इक्यान उपाध्यक्ष पौडेल

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का प्रथम उपाध्यक्ष एन्ड्रियु पौडेलले युवाहरूलाई स्पष्ट र अटल उद्देश्यका साथ अघि बढ्न आग्रह गरेका छन् ।

सोमबार इक्यान ललितपुर शाखाले आयोजना गरेको ‘एजुकेशन युथ समिट’ कार्यक्रममा बोल्दै उनले सफलताको मूल चाँबी ठूला सपना र उद्देश्य भएको स्पष्ट पारे । विद्यार्थीहरूलाई सिर्जनशील बन्न प्रेरित गर्दै उनले भने, “हामी प्रयोगकर्ता र उपभोक्ता मात्रै भएर सीमित रहनु हुँदैन, क्रिएटर बन्नुपर्छ ।”

उनले अहिलेको पुस्तामा सिर्जनात्मकता भन्दा उपभोग गर्ने प्रवृत्ति बढिरहेको चिन्ता व्यक्त गर्दै उदाहरण स्वरूप भने, “पहिला सिङ्गिङ मेरो प्यासन हो भन्ने सुन्थ्यौं, अहिले भने लिस्निङ म्युजिक भन्न थालिएको छ । पहिले पेन्टिङ गर्ने शौख थियो, अहिले पेन्टिङ कलेक्सन मात्र भएको छ ।”

प्रथम उपाध्यक्ष पौडेलले युवाहरूलाई सामाजिक सञ्जालमा २४ घण्टाका लागि स्टोरी राखेर मात्र सन्तुष्ट नहुन सुझाव दिँदै भने, “इन्स्टामा राखिएको स्टोरी त २४ घण्टा मात्र देखिन्छ, तर जीवनको असली स्टोरी चाहिँ सयौं वर्षसम्म बाँच्छ ।”

उनले पृथ्वीनारायण शाह, अब्राहम लिंकन जस्ता व्यक्तित्वहरूको उदाहरण दिँदै भने, “उनीहरूले जस्तै दीर्घकालीन असर पार्ने कथा निर्माण गर्न हामीले पनि सिर्जनात्मक बन्न आवश्यक छ।”

प्रथम उपाध्यक्ष पौडेलले उद्देश्यको महत्वलाई जोड दिँदै भने, “सानो समस्यामा हामी सजिलो विकल्प रोज्छौं, तर जब उद्देश्य ठूलो हुन्छ, हामी जुनसुकै कठिनाइ पनि पार गर्छौं । जस्तै, अनलाइन फुड अर्डर गर्नु सजिलो हुन्छ, तर जब आमाबुबाको ज्यान बचाउनुपर्ने हुन्छ, तब हामी दौडिएर हस्पिटल पुर्‍याउने प्रयास गर्छौं ।”

Logo