काभ्रे
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नगरबस संचालन भएको छ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सो बस सेवाको आइतवार उद्घाटन गरे । कार्यक्रममा पुर्वप्रधानमन्त्री नेपालले जनताले धेरै आशा गरेको सरकारको कामलाई तिब्र गति दिन प्रधानमन्त्रीले डण्डा चलाउनु पर्ने सुझाव दिएका छन् । ‘प्रधानमन्त्री ज्यू पहिले तपाईका मन्त्री अनि सचिव, महानिर्देशक हुँदै इन्जिनियर र निर्माण ब्यवसायीहरु माथी डण्डा चलाउनुस्’–नेता नेपालले भने ।
जिल्लाको मण्डन देउपुर नगरपालिकामा नगर बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले काभ्रेलाई प्रदेश मात्र नभई मुलुककै केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेता नेपालले सुशील कोइराला नेतृत्वको सरकारको पालादेखि नै स्थानीय तहका लागि आवश्यक कानुन निर्माण गर्न ढिलाई भएका कारण अहिले अधिकारका विषयमा समस्या आएको बताए ।
सोही कारण स्थानीय तहले आफ्नो अधिकारका लागि संघर्ष गर्नुपरेको उनले बताए । नेता नेपालले काभ्रेको बनेपामा विमानस्थल निर्माणको चर्चाबारे हचुवाका आधारमा नभई विमानस्थल निर्माणपछि त्यसबाट लिनसक्ने फाइदाको अध्ययन गरेर मात्रै काम अगाडि बढाउनुपर्ने बताए ।
काभ्रेलाई प्रदेशको राजधानी बनाउने विषयमा सांसदहरु, पार्टीका नेता तथा सरोकारवालाबीच बहस चलाउनु पर्ने बताए । उनले काभ्रेको पाँचखाल तातोपानी नाकासँग सिधा जोडिएको तथा अन्य विभिन्न जिल्लाको केन्द्र समेत बन्न सक्ने भएकाले सोही अनुसार पाँचखाल क्षेत्रको विकास गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा नेता नेपालले जिल्ला मै पहिलोपटक मण्डनदेउपुर नगरपालिकाले सुरु गरेको नगरबस सेवाको शुभारम्भ गरेका थिए ।
नगरपालिकाको अग्रसरतामा सुरु भएको नगरबस सेवामा हाल ६ वटा बस सञ्चालनमा ल्याइएको छ भने चाँडै १५ वटासम्म पु¥याउने बताइएको छ । यो सेवा कुन्ताबेसीबाट नयाँगाउँ हुँदै नगरकोट, नगरकोटबाट देउपुर हुँदै कुन्ताबेसी तथा कु्रन्ताबेसीबाट कोलाचौर तथा ५० किलो हुँदै दोलालघाटसम्म सञ्चालन हुनेछ । यहाँ हेलम्बु यातायात सेवा समितिले बस सेवा सञ्चालन गरेको हो ।
कार्यक्रममा नेकपा प्रदेश नंवर ३ का सहइन्चार्ज हितमान तामाङ, पुर्वसभासदद्वय कृष्णप्रसाद सापकोटा तथा बिदुर सापकोटा, प्रदेश सांसदहरु लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईं, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकवहादुर वाइवा, उपप्रमुख निर्मला शाही, राजनीतिक दलका प्रतिनिधि लगायतले नगरबस सेवा सुरु भएपछिको फाइदाका विषयमा बोलेका थिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया