घरजग्गा कारोबारमा कडाइ : खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य, अरू के छन् व्यवस्था ?

घरजग्गा कारोबारमा कडाइ : खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य, अरू के छन् व्यवस्था ?

केन्द्रबिन्दु
579
Shares

काठमाडौं । सरकारले घरजग्गा कारोबारमा कडाइ गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी हुन नदिन कडा व्यवस्था गरेको हो।

सरकारले मालपोत कार्यालयहरूमा देखिएको वित्तीय अपारदर्शिता हटाउने उद्देश्यसहित निर्देशन जारी गरेको हो।

“सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरिएको निर्देशन, २०८२” मा अब घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा दश लाख रुपैयाँदेखिमाथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भूक्तानी प्रणाली मार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।

तर पचास लाख रुपैयाँभन्दा बढि रकमको कारोबार विद्युतीय भूक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको ‘गुड फर पेमेन्ट’ चेकमार्फत गर्नुपर्नेछ। यस्ता कारोबारमा खरिदकर्ताको खाताबाट विक्रेताको खातामा रकम गएको बैंक स्टेटमेन्ट समेत पेश गर्नु पर्नेछ।

अब प्रत्येक जग्गा कारोवारमा ग्राहकको पहिचान खुल्ने विवरण (केवाइसी फाराम), बैंकिङ कारोबारको प्रमाण र आर्थिक लेनदेनका कागजपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

यस प्रणाली लागू भएसँगै मालपोत कार्यालय वा भूसेवा केन्द्रमा जग्गा किनबेच गर्न आउने व्यक्तिले कागजपत्र मात्र पेश गरेर काम चलाउने अवस्था अब रहने छैन। क्रेता र विक्रेताले पहिचान खुल्ने गरी केवाइसी फाराम भर्नु पर्नेछ र त्यो जानकारी सम्बन्धित कार्यालयको प्रणालीमा अपलोड नगरी कारोवार अघि बढ्न सक्नेछैन। भूसेवा केन्द्र नभएका स्थानमा सेवा डेस्कले सो फाराम भर्ने व्यवस्था मिलाउनु पर्नेछ।

घर खरिद बिक्रीको कारोबार गर्दा बमोजिमका घरजग्गा खरिद वा बिक्री व्यवसायी खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्नेछ।

बैंकमार्फत राजश्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा दश लाखभन्दा बढीको घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा लाग्ने रजिष्ट्रेशन वापतको शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर वापतको राजश्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजश्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेश गरेमा दश लाख रुपैयाँभन्दा बढीको बैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ वा विद्युतीय कारोबार प्रणाली मार्फत लेनदेन भएको विवरण वैनाबट्टाको कागजसाथ पेश गर्नुपर्नेछ।

खरिदकर्ता वा विक्रीकर्ताले एक दिनमा एक पटक वा पटक पटक गरी तीन करोड वा सोभन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गर्दा कार्यालयले कारोबारको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

घर जग्गा खरिद वा बिक्रीको कारोबार शंकास्पद देखिएमा कार्यालय र सूचक संस्थाले सो को जानकारी नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइमा पठाउनु विभागले जनाएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले निर्देशनको कार्यान्वयनमा कुनै पनि ढिलासुस्ती नगर्न सबै मालपोत कार्यालय र भूसेवा केन्द्रलाई निर्देशन दिएको छ। निर्देशनको पालना नगरेमा ऐन र नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने विभागे निर्देशन माफर्त चेतावनी समेत दिएको छ।

Logo