नेसन्स लिगको ट्रफीका लागि रोनाल्डो र लामिनबीच महा–भिडन्त हुने

नेसन्स लिगको ट्रफीका लागि रोनाल्डो र लामिनबीच महा–भिडन्त हुने

केन्द्रबिन्दु
201
Shares

काठमाडौं । स्पेनले जर्मनीको स्टुटगार्टस्थित एमएचपी एरिनामामा भएको दोस्रो सेमिफाइनलमा फ्रान्सलाई ५–४ को रोमाञ्चक स्कोरमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।

युरोपियन च्याम्पियन स्पेनले खेलको सुरुआतदेखि नै फ्रान्सविरुद्ध आक्रामक प्रदर्शन गरेको थियो । स्पेनका लागि निको विलियम्सले २३औं मिनेटमा पहिलो गोल गरे लगत्तै २५औं मिनेटमा मिकेल मेरिनोले दोस्रो गोल थपेका थिए । यसैगरी हाफको ५३औं मिनेटमा लमिन यमलले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाए, र दुई मिनेटपछि पेड्रो गोन्जालेज लोपेज (पेड्री) ले चौथो गोल गर्दै ४–० को फराकिलो अन्तर बनाए । फ्रान्सले ५९औं मिनेटमा केलियन एमबाप्पेको पेनाल्टी गोलमार्फत खाता खोलेर खेलमा फर्कने प्रयास गरेता पनि ६७औं मिनेटमा यमलले आफ्नो दोस्रो गोल थप्दै स्पेनलाई ५–१ को अग्रता दिलाए । फ्रान्सले अन्तिम १० मिनेटमा थियो हर्नान्डेजको गोल (७९औं मिनेट), स्पेनका ड्यानी भिभियनको आत्मघाती गोल (८४औं मिनेट), र रान्डल कोलो मुआनीको इन्जुरी टाइमको गोलमार्फत स्कोर ५–४ मा पु¥याए पनि, स्पेनविरुद्ध जितका लागि पर्याप्त बनेन ।

अब आइतबार हुने फाइनल खेलमा साविक विजेता स्पेन र सर्वाधिक गोलकर्ता क्रिष्टियानो रोनाल्डोको पोर्चुगल आमनेसामने हुनेछन् । नेपाली समयअनुसार पौने १ बजे सुरु हुने यो खेल केवल ट्रफीको लागि लडाइँ मात्र नभई, दुई फुटबल पुस्ताहरूको रोमाञ्चक टकरावका रुपमा हेरिएको छ ।

पोर्चुगलले पहिलो सेमिफाइनलमा आयोजक जर्मनीलाई २–१ ले पराजित गर्दै पहिल्लै फाइनलमा स्थान बनाई सकेको छ । यो जित रोनाल्डो तथा पोर्चुगल दुबैका लागि विशेष थियो, किनभने पोर्चुगलले ठूला प्रतियोगितामा जर्मनीविरुद्ध २५ वर्षपछि यो नै पहिलो जित हासिल गरेको थियो ।

आइतबार हुने फाइनल खेल दुई फुटबल युगहरूको टकराव पनि हो । ४० बसन्त पार गरिसकेका रोनाल्डोले पोर्चुगलका लागि १३१ भन्दा बढी गोल गर्नुका साथैं सन् २०१६ को युरो र २०१९ को नेसन्स लिग पनि जिताएका छन् । अर्कोतर्फ, १७ वर्षीय लामिन यमल विश्व फुटबलको उदीयमान स्टार हुन् । बार्सिलोनाका यी युवा खेलाडीले फ्रान्सविरुद्धको सेमिफाइनलमा दुई गोल गर्दै स्पेनको इतिहासमा डबल गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । मार्च २०२५ मा साइप्रसविरुद्ध नेसन्स लिगको सबैभन्दा कम उमेरका गोलकर्ताको कीर्तिमान बनाएका यमलले २०२४ को कोपा ट्रफी र युरो २०२४ को यङ प्लेयर अफ द टुर्नामेन्ट अवार्ड जितिसकेका छन् । उनको तीव्र गति, ड्रिब्लिङ, र घातक फिनिसिङले स्पेनको रणनीतिलाई केन्द्रमा राख्दै आएको छ ।

अब फाइनलमा लुइस डे ला फुएन्टेको नेतृत्वमा स्पेनले आफ्नो ट्रेडमार्क बल पोजेसन र आक्रमणकारी शैली अपनाउने छ । यामल र निको विलियम्सले विङ्सबाट खतरा उत्पन्न गर्नेछन्, भने पेड्री र रोड्रीले मिडफिल्डमा नियन्त्रण कायम गर्ने छन् । फ्रान्सविरुद्धको ५–४ को जितले स्पेनको आक्रमणकारी गहराइ देखाई सकेता पनि अन्तिम मिनेटहरूमा स्पेनको रक्षात्मक कमजोरी पनि उजागर भएको छ ।

रोबेर्तो मार्टिनेजको पोर्चुगल अनुभव र उदीयमान प्रतिभाको मिश्रण हो । रोनाल्डोले आक्रमणको नेतृत्व गर्नेछन्, जसलाई ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाको रचनात्मकताले साथ दिनेछ । डियोगो डालोट र जोआओ क्यान्सेलोको ओभरल्यापिङ रनले स्पेनको फुलब्याकहरूलाई परीक्षण गर्नेछ, भने रुबेन डायसले यमलको अप्रत्याशित फ्लेयरलाई रोक्न रक्षाको नेतृत्व गर्नेछन् । जर्मनीविरुद्धको खेलमा देखिएको दबाब र काउन्टर अट्याक गर्ने पोर्चुगलको क्षमताले स्पेनको कमजोरीलाई उपयोग गर्न सक्छ।

हालसम्म स्पेन र पोर्चुगल ४० पटक भिडेका छन्, जहाँ स्पेनले १७ जित र पोर्चुगलले ७ जित हासिल गरेको छ, बाँकी १६ खेल बराबरीमा सकिएको छ । पछिल्लो प्रतिस्पर्धात्मक भेटमा, २०२२–२३ नेसन्स लिगमा स्पेनले अल्भारो मोराटाको गोलमा १–० को जित हासिल गरेको थियो ।

यो युइएफए नेसन्स लिग फाइनल केवल एक खेल होइन, फुटबलको इतिहासमा एक अविस्मरणीय अध्याय पनि हुनेछ । क्रिष्टियानो रोनाल्डोको अनुभव र लामिन यमलको युवा जोशबीचको यो भिडन्तले विश्वभरका फुटबल प्रेमीहरूलाई बाँधि राख्नेछ । के रोनाल्डोले दोस्रो नेसन्स लिगको ट्रफी जित्न सक्लान त ?

Skip This
Skip This
Logo