काठमाडौं । एसियाली फुटबलको पावरहाउस दक्षिण कोरियाले फेरि एकपटक विश्व मञ्चमा आफ्नो दबदबा कायम राख्दै सन् २०२६ को फिफा विश्वकपमा छनोट भएको छ।
यो कोरियाको लगातार ११औं विश्वकप सहभागिता हो, जुन आफैंमा एक ऐतिहासिक उपलब्धि पनि हो। गएराति भएको एसियाली तेस्रो चरणको छनोट खेलमा इराकलाई २-० ले पराजित गर्दै कोरियाले अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। यो जितले दक्षिण कोरियाको फुटबल विरासतलाई थप बलियो बनाएको छ।
इराकविरुद्धको खेलमा दक्षिण कोरियाले आफ्नो रणनीतिक कौशल र आक्रमक खेलको उत्कृष्ट प्रदर्शन गर्यो। खेलको पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा कोरियाले गति लियो। ६३औं मिनेटमा किम जिन-ग्युले जियोनबुक क्लबका तर्फबाट शानदार गोल गर्दै कोरियालाई अग्रता दिलाए। उनको यो गोलले खेलको लय कोरियातर्फ मोडियो। त्यसपछि ८२औं मिनेटमा ओए हाएन-ग्युले दोस्रो गोल थप्दै कोरियाको जित सुनिश्चित गरे। इराकले १० खेलाडीमा सीमित भएर खेले पनि कोरियाको डिफेन्स र मिडफिल्डले कुनै मौका दिएन। यो जितले कोरियालाई समूह ‘बी’ मा ९ खेलबाट १९ अंकसहित शीर्ष स्थानमा पुर्याएको छ।
दक्षिण कोरियाले सन् १९८६ देखि लगातार हरेक फिफा विश्वकपमा सहभागिता जनाउँदै आएको छ। सन् २००२ मा जापान र कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा कोरियाले सेमिफाइनलसम्मको यात्रा तय गर्दै विश्वलाई चकित पारेको थियो। त्यसयता कोरियाले निरन्तर रूपमा विश्वकपमा प्रभावशाली प्रदर्शन गर्दै आएको छ। यो ११औं विश्वकप सहभागिताले कोरियाको फुटबलमा निरन्तरता र समर्पणलाई झल्काउँछ।
एसियाली छनोटको तेस्रो चरणमा १८ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ, र प्रत्येक समूहका शीर्ष दुई टोलीले सन् २०२६ को विश्वकपमा स्थान बनाउँछन्। समूह ‘बी’ मा रहेको दक्षिण कोरियाले हालसम्म अपराजित रहँदै १९ अंक जोडेको छ। कोरियाले अब कुवेतसँग अन्तिम खेल खेल्न बाँकी छ, तर यो खेलको नतिजाले समूहको शीर्ष दुईमा उसको स्थानलाई असर गर्दैन। कोरियाको यो निरन्तरता र स्थिरताले उसलाई एसियाको फुटबल महारथीको रूपमा स्थापित गरेको छ।
यो जितसँगै समूह ‘बी’ बाट जोर्डनले पनि विश्वकपमा स्थान बनाएको छ। जोर्डनले ओमानलाई ३-० ले हराउँदै १६ अंकसहित पहिलोपटक विश्वकपमा छनोट भएको छ।
सन् २०२६ को फिफा विश्वकप फुटबल इतिहासमा एक कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ। यो विश्वकप पहिलोपटक तीन देश—अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। ४८ टोलीको सहभागितामा हुने यो विश्वकपमा १२ समूहमा चार-चार टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा प्रत्येक समूहका शीर्ष दुई र उत्कृष्ट आठ तेस्रो स्थानका टोली अन्तिम ३२ मा पुग्नेछन्। कुल १०४ खेल हुने यो विश्वकप फुटबलको सबैभन्दा ठूलो संस्करण हुनेछ।
एसियाली फुटबल महासंघ (एएफसी) ले यो विश्वकपका लागि आठ टोलीको कोटा प्राप्त गरेको छ, र एक टोलीले अन्तरमहादेशीय प्लेअफमार्फत थप स्थान बनाउन सक्छ। दक्षिण कोरियाले यो कोटामा आफ्नो स्थान पक्का गर्दै एसियाली फुटबलको गौरवलाई कायम राखेको छ।





























प्रतिक्रिया