मनाङ
ङिस्याङ गाउँपालिका १ भ्राताङमा छ , स्याउ फार्म । चार वर्ष अघि सांसद पोल्देन गुरुङले यहाँ ६७ हजार बिरुवा रोपेका थिए । गत वर्ष ३ लाख किलो उत्पादन दिइसकेको फार्मको बिहीबार प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरे । यसका लागि मनाङ मस्र्याङ्दी क्लबको ७ सय ३५ रोपनी जग्गा २७ वर्षलाई भाडामा लिइएको छ । स्याउ खेतीले ४ सय २५ रोपनी ओगटेको छ ।
इटाली र सर्बियाबाट ल्याइएका दुई प्रजातिका स्याउलाई ठिमाहा बनाइएको छ । वर्णसंकर भएकाले यी बिरुवा अरू जस्तो अग्ला र मोटा भने छैनन् । तिनले दुई वर्षदेखि फल दिइरहेका छन् । वयस्क भइसकेपछि भने प्रत्येक बोटमा कम्तीमा ३० देखि ३५ किलो फल्ने गुरुङको भनाइ छ । यसमा ५५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
यहाँ फुजी, गाला र गोल्डेन प्रजातिका स्याउ छन् । यो परियोजनामा गुरुङको कम्पनी एग्रो मनाङ प्रालिले ३० करोड रुपैयाँ लगानी गरिसकेको छ । यसलाई उनी अझै बढाउने सोचमा छन् । उनले यससँगै होटल र कोल्डस्टोर सञ्चालनमा ल्याएका छन् । ‘हामीले यहाँ स्याउ खेती मात्र गर्न खोजेका होइनौं’, उनले भने, ‘एग्रो टुरिजम विकास गर्न खोजेका हौं । त्यसका लागि होटल पनि सँगै बनाएका छौं ।’ एग्रो फार्मले जुस, ड्राई एप्पल, ब्रान्डी र वाइनसमेत बनाउन थालेको छ ।
काठमाडौंको ठमेलमा रहेको चल्तीको होटल बेचेर स्याउ फार्म सुरु गरेका गुरुङले नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बाट पनि सहयोग पाएका थिए । उनले अनुदान सहयोग मात्र २ करोड २४ लाख पाए । ‘अनुदानका लागि फार्म सुरु गरेको भने होइन । त्यसले प्रोत्साहन भने गरेको छ’, उनले प्रस्ट्याए, ‘अझै लगानी बढाउँदै जानेछौं । यसमा सरकारको साथ र सहयोग उत्तिकै अपेक्षा गर्छौं ।’
प्रत्येक वर्ष कम्तीमा २१ लाख किलो स्याउ उत्पादन गर्ने उनको लक्ष्य छ । त्यो पाँच वर्ष भित्र पूरा हुने उनको दाबी छ । त्यसका लागि लगानी थपिरहेका छन् । ‘सन् २०२१ मा २१ लाख किलो स्याउ फलाउने लक्ष्य छ’, गुरुङले भने, ‘फार्मले उत्पादन दिन थालेको सातौं वर्ष सम्ममा सबै लगानी उठिसक्छ ।’ फार्ममा उत्पादित स्याउ काठमाडौंका ३ सय २५ पसलबाट बिक्री गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । उत्पादित स्याउ नेपालमै बेच्ने उनको लक्ष्य छ । बजार नपाउला भनेरै उनले तीन प्रजाति लगाएका हुन् । फुजी, गाला र गोल्डेन जातका स्याउ सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पाक्छन् । यसले तीन महिनासम्म बजार पुर्याउन र स्टोरेज गर्न सघाउने उनको भनाइ छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया